सायद २०४९ सालको पुस महिनाको कुरा हो म घर मुनीको सडकमा समवयीहरुसँग थिएँ । यत्तिकैमा सुर्काने झोला भिरेका दुईजना तामाङ बालकहरु आउँदै थिए । उनीहरुका पिठिउँमा भारी झोला त छँदै थियो अझ हातमा पनि घिउको भाँडो झुण्डिएको थियो । दुई मध्ये एउटा बालक सफेद वर्णको अलि लजालु देखिन्थ्यो भने अर्काे तुलनात्मक रुपमा बोलाईलो । उनीहरु जब हामी नजिक आईपुगे संयोग भन्नु पर्छ मैंले नैं उनीहरुलाई सोधें ‘कता हिड्या केटा हो ?’ भनेर । मेरो प्रश्नले उनीहरुको गति रोकियो । त्यो सफेद लजालु बालकमा स्पष्टसँग संकोचको छनक देखियो र उ परै वस्यो भने अर्काे बालक चैं निर्भिकताका साथ नजिक आएर जवाफ दियो “हामी अमले पटवाँस तिरबाट आएको । राम्रो स्कुलमा पढन मन लागेर यताहुँदी झरेको ।” त्यो बालकले ‘यताहुँदी’ भन्ने शब्द बोलेको म कैले बिर्सन्न । खै किन हो त्यो शब्द मेरालागी अनौठो थियो उसबेला । स्कुल खोज्दै हिडेको सुनेपछि मैले नजिकैको फोस्रेटार स्कुल देखाउँदै भने “उ त्यो स्कुल राम्रो छ । म पनि त्यही स्कुलमा गणित पढाउँछु ९ र १० कक्षामा ।” म पनि मास्टर भएको सुनेर उनीहरु एकछिन अकमकिए । दुवैले मेरो शिरटुप्पै स्क्यान गरे । सायद पत्याएनन् बरु खिसीटेउरी गर्न खोजेको जस्तो सम्झेर होला बडो असजिलो र भद्धा चालमा दुवै बालकहरु विष्मयभाव देखाएर बजार तिरै लागे ।
केही दिनपछि ती दुवै बालकहरु फोस्रेटार स्कुलमै भर्ना भए । अब म उनीहरुको गणित शिक्षक भएँ, पढाएँ । उनीहरुले हाम्रै गाउँमा डेरा लिए । राती गणितका समस्या लिएर आउँथे म उनीहरुसँगै बसेर सिकाउँथे । त्यो गोरो वालक गणितका ‘क्लु’ बुझेपछि बडो मिठोसँग हाँस्थ्यो । ढुक्कसँग । दुवैको पढाई राम्रो थियो । दुवै अत्यन्त मिहिनेती ।
माओवादी जनयुद्ध शुरु भयो । सुरुका दिनमा हाम्रो तिर जनयुद्धको प्रभाव बाहिरसम्म देखिईसकेको थिएन । तर संगठन निर्माण र मोटिभेसनका अभियानहरु चलेका थिए जस्तो लाग्छ । किनभने त्यो सफेद अनुहारको लजालु वालकमा नवुझिने उत्साह, जिज्ञासा अनी परिभाषित नैं नहुने खालले निर्भिकपन देखिन थालेको थियो । त्यो बालक स्कुलको स्रोत जुटाउने विभिन्न अभियानहरुमा सरिक हुन्थ्यो । उसको संकोचपन यतिसम्म हराएर गयोकी अब उ विभिन्न कार्यक्रमहरुमा बडो उत्साहका साथ नाच्न थालेको थियो । उनले नाच्ने गीत अझ मलाई ज्ञात छ– “पाँईन मैले गाँस पनि बास पनि, छैन मलाई कसैको आस पनि ।” बडो मिठो र जोसिलो गीत थियो त्यो ।
प्रवेशिका परीक्षा आउने बेलासम्म त्यो सफेद अनुहारको बालक बिद्यालयमा आउने क्रम एकदम अनियमित हुनथाल्यो । सायद माओवादी राजनीतिक गतिविधीमा लागेर होला । उनको पढाई राम्रो थियो । फस्ट डिभिजनको ल्याकतका थिए । उसबेला स्कुलको लागि सम्पत्ति आर्जन गरेजस्तै थियो प्रथम श्रेणीको उत्तीर्ण संख्या । तर उनी संगठनतिरै बढी समय लागेका देखिन्थे । हामीले यो कुरामा केहीपनि सल्लाह सुझाव दिन सक्तैन थियौं । यद्यपि उनले प्रवेशिका परीक्षा पास गरे र यो सँगसँगै उनी अब हाम्रो प्रत्यक्ष सम्पर्कबाट छुटे । भुमिगत भएछन् ।
नेपाली सेना र जनमुक्ति सेना बिच ठुला युद्धहरु जोरिन्थे कहिलेकाही । धेरै जनाको सहादत हुन्थ्यो । कहिलेकाही कस्ता अपत्यारिला समाचारहरु सुनिन्थ्यो । आफैले पढाएका केटाकेटीहरु सहादत भएको सुनिन्थ्यो । नियती भनेर बुझ्ने बानी भैसकेको थियो । कुरै कुरामा त्यो सफेद रंगको बालकको पनि कुरा हुन्थ्यो । कतिले देखेर भन्थे की अन्दाजमा भन्थे त्यो थाहा हुदैनथ्यो । कसैले भन्थे उ त काभ्रेको मोर्चामा छ, कसैले भन्थे उ त मारिइ सक्यो, उ त साँस्कृतिक बिभागमा छ यस्तै यस्तै । तर उसलाई नदेखेको करिव दशक जति भएको थियो ।
बृहद शान्ति सम्झौता भयो । सबै भुमिगतहरु बिस्तारै बिस्तारै बाहिर देखिए । यस्तैमा मैंले एक दिन आफ्नै अफिस अगाडि त्यो सफेद बालकलाई देखें । अब उनी बालक थिएनन् । जिम्मेवारी र परिपक्व उमेरले होला उनी पहिले जसरी मसँग बोलेनन् । मलाई लाग्यो सैन्य संगठनमा अभ्यस्त भएर होला । समयको अन्तराल सँगै उनीसँग मेरो विभिन्न सरकारी कार्यक्रमहरुमा भेट हुन्थ्यो । थोरै बोल्थे, सहीकुरा बोल्थे, सही सन्दर्भ उठाउँथे, सही विश्लेषण गर्थे । उत्तेजित कहिल्यै भएनन् । कुनै दिन रवाफिला देखिएनन् । जनाधारका समस्याको बढी चासो लिन्थे ।
लामो समय राजनीति गरेर पनि उनले त्यो कर्मबाट कुनै अपेक्षा गरे जस्तो मलाई लाग्दैन । अति सामान्य जीवनमा रमाउन थाले । एकदिन बजारमा तरकारी बेच्दै थिए उनी । तरकारी बेचेको फोटो देखे पछि मलाई लाग्यो ‘त्यो एउटा आम सन्देश थियो परिश्रमको उपार्जनको ।’ अहिले पनि उनी खेतिपाती र कृषि उत्पादनमै संलग्न छन् । सामन्ती राज्य ब्यवस्था विरुद्ध दशक लडेका यीनले आफ्नो लडाईको उपहास हुने कुनै कर्म गरेका छैनन् ।
यी सामान्य पहिरन, अल्पभासी, गम्भीर श्रवण कला, कम्पोज्ड मान्छे अस्तितिर कमलामाई नगरपालिकाले अनुदानमा दिएको पावर ट्रिलर लिन नगरपालिका आएका थिए । मैले देखें अनि नजिकै गएँ । के छ सुरत ? भने ‘ फिसिक्क हाँस्दै भने’ ठिकै छ सर ।’
त्यो सफेद बालक सुरतबहादुर स्याङतान् अर्थात माओवादी जनयुद्धका ब्रिगेड कमाण्डर कमरेड बृहद नाम गरेका ब्यक्ति हुन् ।
- सागरकुमार ढकाल