सम्पादकीय: पत्रकारिता दलाली पर्ने ‘प्लेटफर्म’ होइन

अखवारहरुको भिडमा पृथक पहिचान बनाउँदै प्रकाशन भइरहेको सन्देश जनप्रिय साप्ताहिकले २० वर्ष पुरागरी २१ औं वर्षमा प्रवेश गरेको छ । हाम्रो यो २० वर्षे यात्रामा निरन्तर साथ दिनुहुने आदरणीय पाठक, वितरक, विज्ञापनदाता र सबै शुभचिन्तकको स्नेह र हौसलाका लागि हामी कृतज्ञ छौं । अझै निर्भीकताका साथ अझै अनुसन्धानमुखी, अझै वस्तुनिष्ठ र तथ्यका आधारमा सत्य स्थापित गर्ने मान्यतामा अडिग रहने कार्यमा विगतमा झैं आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्दछौं ।
पत्रकारिता सत्तालाई खुसी पार्न सक्ने पेसा होइन । निर्भय र निष्पक्ष पत्रकारिताले सबैभन्दा उद्वेलित कसैलाई बनाउँछ भने त्यो सत्ता हो । सत्तासँग हाम्रो कुनै पूर्वाग्रह छैन, प्रश्नहरू अवश्य छन् । जहाँ जनताको आकांक्षा र सत्ताको स्वार्थ बाझिन्छ, हामी हमेसा र विनासर्त जनताको पक्षमा उभिने छौं ।
हामीले प्रस्तुत गर्ने सामग्रीप्रति जिम्मेवार र जवाफदेहिताबाट हामी आफैं पनि उन्मुक्त छैनौं । हाम्रो अखबार प्रत्येक बुधवार बिहान जनताको अदालतमा खडा हुन्छ । त्यही नै हाम्रो अन्तिम अदालत हो र त्यसको आदेश हाम्रा लागि परमादेश हो । आदरणीय पाठकबाहेक अरू कसैको प्रमाणपत्र हाम्रा लागि अपेक्षित छैन ।
हामी सदरमुकाम मात्र केन्द्रीत छैनौं । अबको पत्रकारिता सदरमुकामले धान्दैन भन्नेमा हामी स्पष्ट छौं । स्थानीय सत्ताले बिर्सेका सीमान्त वर्गको पक्षमा उभिएर सामाजिक रुढी, अपारदर्शिताविरुद्ध हाम्रो प्रहार विनासम्झौता जारी रहनेछ ।
हामी कागज र मसिको कहिल्यै दुरुपयोग गर्ने छैनौं । पत्रकारिता दलाली र सौदावाजी गर्ने प्लेटफर्म होइन भन्ने तथ्यलाई निरन्तर आत्मसातगर्दै अगाडि बढ्ने प्रण गर्दछौं ।

प्रेम दाहाल
सम्पादक