गोलन्जोरका वडाध्यक्षनैं गायब !

गोलन्जोर: सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष आफ्नो वडाका नागरिकको गुनासो सुन्न छोडेर गायव भएका छन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर उनी विगत दुई साता अघिदेखी जनताको काम गर्न छोडेर फरार छन् । वडा नं. २ का वडाध्यक्ष दौलत कार्कीलाई पक्राउ गरी कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीले असार १५ गते नै पक्राउ पुर्जी जारी गरेपछि उनलाई अहिलेसम्म न त प्रहरीले पक्राउ गर्न सकेको छ, न त वडाध्यक्ष कार्की जनताको काम गरेर वडा कार्यालयमा बसिरहेका छन् ।
वडाध्यक्ष कार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै असार १४ गते प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता गराएका थिए । प्रहरीले सो मुद्धा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेपछि प्रशासनले असार १५ गते पक्राउ पूर्जी जारी गरेको थियो ।
पक्राउ पूर्जी जारी भएपछि प्रहरीले खोजी कार्य अघि बढाए पनि वडाध्यक्ष कार्की पक्राउ पर्नुको सट्टा गाउँपालिकामा भुक्तानी हुन बाँकी विभिन्न समितिको भूमिगत शैलीमा सिफारिस गरिरहेको बुझिएको छ । पक्राउ पूर्जी जारी भएका व्यक्तिले वडा कार्यालय बाहिर बसेर सिफारिस गरिरहँदासमेत प्रहरी रमिते बनेको भन्दै स्थानीय आक्रोसित बनेका छन् ।
सिडिओ सुनिता नेतालको निर्देशनपछि सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले मातहतका निकायलाई पक्राउ गर्न निर्देशन दिएका थिए । तर, इप्रका खुर्कोटमा इन्स्पेक्टर सविता केसीले भर्खरै जिम्मेवारी सम्हालेको र मातहतका प्रहरीले भने वडाध्यक्षलाई फोन गर्दै पूर्वजानकारी गराउने गरेको प्रहरी स्रोतको भनाइ छ ।
एसपी सिलवालले कडा निगरानी राख्न र पक्राउ गर्न निर्देशन दिएपनि इप्रका खुर्कोटका प्रहरीहरुले जिम्मेवारीपूर्ण काम नगर्दा वडाध्यक्ष कार्कीले उन्मुक्ति पाइरहेका छन् । वडाध्यक्षलाई पक्राउ गर्न हिडेको टोलीले कार्कीलाई अग्रिम फोन गर्ने र घर पुगेर नभेटिएको भन्दै फर्कने गरेका छन् ।
वडाबासीहरुमा समेत कुटपिट गर्ने, धम्क्याउने जस्ता गतिविधि गर्दै आएका वडाध्यक्ष कार्की यसअघि भने मिलापत्रको नाममा उम्किदै आएका थिए । यसपटक भने हाकिमकै कठालो समाउने, पालिकाको गाडी तोडफोडमा उत्रिएपछि उनीविरुद्ध उजुरी परेको छ ।
मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । यदि कसैले यो बुँदाविपरीत व्यवहार गरेको छ भने १ वर्षसम्म कैद, १० हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।
गोलन्जोर गाउँपालिकाको गाउँसभापछि घर फर्कने क्रममा वडाध्यक्ष कार्कीले प्रमुख प्रशासकीय अधिकृत पौडेलको कठालो समाउँदै गाडी तोडफोड गरेका थिए । पालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकारले वडाध्यक्ष कार्कीले पटक पटक जनमतको अबमूल्यन गरिरहेको बताए । वडाध्यक्ष कार्कीले प्रमुख प्रशासकीय अधिकृत पौडेलमाथि मादक पदार्थ सेवन गरेको आरोप लगाए पनि खुर्कोट सामुदायिक अस्पतालले पौडेलको मापसे रिपोर्ट नेगेटिभ आएको जनाएको थियो । मेडिकल रिपोर्ट विपरित सिन्धुलीको एक अनलाइनले भ्रामक समाचार प्रकाशन गरेको थियो । त्यसरी भ्रामक समाचार लेख्ने पत्रकार महासंघ सिन्धुलीका पदाधिकारी हुन् ।
वडाध्यक्ष कार्कीले यसअघि फेसबुकमा भरुवा बन्दुक बोकेर हिडेको तस्वीर समेत सार्वजनिक गरेका थिए । सो फोटो सार्वजनिकपछि पनि उनलाई सिन्धुली प्रहरीले केही गरेन । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको अभिलेखमा कार्कीले हतियार राख्न पाउने उल्लेख छैन । हतियार बोकेर खुलेआम हिंड्ने कार्की अहिलेसम्म पक्राउ नपर्दा प्रहरीको मिलेमतोले काम गरेको भन्दै गोलन्जोरबासी आक्रोसित बनेका छन् ।

त्यससँगै, वडाध्यक्ष कार्कीले सार्वजनिक जग्गामा पक्की घर बनाएको भन्दै मुद्दा परेको छ । सो मुद्दा जिल्ला अदालत सिन्धुलीमा विचाराधिन छ ।
समाजमा टोल छिमेकमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने जनप्रतिनिधिलेनैं यस्तो हर्कत गरेको भन्दै तत्काल उनलाई पक्राउ गरी कारवाही गर्नुपर्ने भन्दै विभिन्न संगठनहरुले माग गरेका छन् । प्रहरी चौकी ग्वाल्टारबाट नजिकै रहेको सार्वजनिक जग्गा हडपेर बनाएको घरमै बसेर सामाजिक सञ्जालमा पोष्टगर्दै बसेको देखिने स्थानीयबासीले जानकारी दिएका छन् । तर, खुर्कोट प्रहरी भने रमिते जस्तो बन्दै आएको छ ।