लोकतन्त्र, जनअधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर बिचार र समाचारहरु पस्किरहेका छौं । यस क्रममा हामीले २० वर्ष लामो यात्रा पुरा गरेको छौं । नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका निम्ति दुरगामी महत्वका यी वर्षमा हाम्रो प्रकाशनले नजिकैबाट साक्षी बन्ने अवसर पाएको छ । हिंसात्मक जनयुद्ध र जनआन्दोलन २०६२/०६३ सँगै समाप्त भएपछि उदाएको एउटा भिन्न परिवेशमा हामी क्रियाशील रहेको विज्ञ पाठकलाई थाहै छ ।
लामो समय लोकतान्त्रिक आन्दोलनमा सक्रिय दल र सशस्त्र विद्रोहबाट शान्तिपूर्ण आन्दोलनमा प्रवेश गरेका शक्तिको पहलमा मुलुकमा नयाँ संविधान लेख्ने बेलाको सकसलाई समेत हामीले निकटबाट नियालेका थियौं । बढ्दो महंगी, खस्कँदो अर्थतन्त्र र स्थानीय सरकारको सौतेलो व्यहारको सामना गरिरहेको अवस्थामा हामीले हाम्रा प्रकाशनलाई निरन्तरता दिनु नै चुनौतीपूर्ण छ । सिमित बजार र सिमित स्रोत साधनका बीचत हाम्रो जनपक्षीय यात्रालाई कहिल्यै ठेस लागेन । हामी तल्लो तहका आधारभूत जनताका दुःख मर्कामा सँधै एकाकार भइरह्यौं ।
सुशासनबिना लोकतन्त्र फस्टाउन सक्दैन । यसकारण हामीले निरन्तर भ्रष्टाचार र अनियमितात विरुद्ध खबरदारी गर्दै आएका छौं । भ्रष्टाचार र अनियमितता विरुद्धको हाम्रो खबरदारी निरन्तर रहने प्रतिवद्धाता व्यक्त गर्दछौं । वार्षिकोत्सवको यो पुनीत घडीमा हामी हाम्रा श्रद्धेय पाठक, विज्ञापनदाता, पत्रकार तथा सहकर्मीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।

दिपा भण्डारी
प्रकाशक/सम्पादक











