गुणस्तरीय भौतिक संरचना नै समृद्धिको आधार : देवकोटा

सिन्धुली: कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटा सहितको एक टोलीले आइतबार योजनाहरूको अनुगमन गरेको छ । चालु आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न भएका योजनाहरूको अनुगमन गरिएको हो । सोमबार कमलामाई नगरपालिका ५ मा रहेको पन्चकन्या टोल हुँदै सानो करकरे देखी झोलुङ्गे पुल सम्म स्तरोन्नति गरिएको सडकको अनुगमन गरिएको छ । सडकमा माथिबाट बग्ने लेदो र हिलो कारण पैदल आवत जावत गर्न पनि समस्या भएको स्थानमा नाला र ग्रयावेल गरिएपछि सडकमा पैदल हिँड्न पनि सहज भएको कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले बताउनुभयो । नौ लाख ३८ हजार ६९ रुपैंयाको लागतमा ९१ मिटर सडकमा नाला सहित सडकको स्तरोन्नति भएको उहाँले बताउनुभयो ।


वडा अध्यक्ष पूर्णबहादुर खड्काले वडामा रहेका सडक खण्ड मध्ये बर्षातमा सबै भन्दा बढी जोखिमको सडक भएको यस सडकलाई बिस्तारै स्तरोन्नति गरिने लक्ष्य रहेको बताउनुभयो । सडकको पहुँच नहुँदा विकासले गति लिन नसक्ने भन्दै उहाँले सडकलाई स्तरोन्नति गर्दै लैजाने उहाँको भनाई छ ।


यस्तै श्री जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा निर्माण गरिएको भवनको अनुगमन गरिएको छ । नमुना विद्यालय कार्यक्रम अन्तर्गत सङ्घीय सरकारको सशर्त अनुदान अन्तर्गत प्राइमरी भवन निर्माण गरिएको हो । ५० लाखको लागतमा ५ कोठे पक्की भवन सहित शौचालय र मञ्च निर्माण गरिएको छ ।


उपमेयर मञ्जु देवकोटाले गुणस्तरीय भौतिक संरचना निर्माण शैक्षिक गुणस्तर बृद्धि गर्न टेवा पु¥धाउने बताउनुभयो । विद्यालयमा निर्माण गरिएको भवनले कक्षा सञ्चालन गर्न केही सहजता भए पनि विद्यालयलाई अझै कक्षा कोठाको अभाव रहेको विद्यालयका प्रधानाध्यापक योगेन्द्र अधिकारीले जानकारी दिनुभयो । हाल विद्यालयमा दुई हजार विद्यार्थी अध्ययनरत रहेको र कक्षा कोठाको व्यवस्थापन गर्न समस्या हुने गरेको उहाँको भनाई रहेको छ । विद्यालयको गुणस्तरीय भौतिक संरचना नै समृद्धिको आधार भएको उहाँको भनाई छ । तोकिएको मापदण्ड अनुसार बनेका भौतिक संरचनाको दिगोपना सँगै शैक्षिक गुणस्तर बृद्धि गर्न टेवा पुग्ने उहाँको भनाई छ ।


कमला माध्यमिक विद्यालय ढुंग्रेबासमा अडिटोरियम हल (सभा हल) निर्माण कार्यको पहिलो चरण सम्पन्न भएको छ । सङ्घीय सशर्त अनुदान अन्तर्गत १ करोडको लागतमा निर्माण हुनेछ ।