जिल्लाका ९ हजार ५ सय ९४ जना नागरिक वैदेशीक रोजगारीमा गएको डरलाग्दो तथ्य सार्वजनिक भएको छ । गत आर्थिक बर्षमा ४ हजार ७ सय १७ रहेकोमा चालु आर्थिक बर्षसम्म बढेर यो संख्या ९ हजार ५ सय ९४ रहेको एक कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)द्धारा सिन्धुलीमा आयोजित पत्रकार लक्षित कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो ।
सामी परियोजना अधिकृत भोजराज सुनुवारका अनुसार नेपालमा रेमिट्यान्स भित्र्याउनेहरुको चुनौती, हालको अबस्था, सिन्धुलीमा परामर्श लिनेहरुको अबस्था प्रस्तुत गरेका थिए ।
सुनुवारलले नेपालको ७ वटा प्रदेश मध्ये मधेश प्रदेशबाट सबैभन्दा बढि वैदेशीक रोजगारमा जाने गरेको खुलासा गरे । बागमती प्रदेश पाँचौ स्थानमा रहेको उल्लेखगर्दै उनले जिल्लाको जनसंख्याको तुलनामा बागमती प्रदेशको जिल्लाहरु मध्ये सिन्धुली जिल्लाबाट सबैभन्दा बढी विदेशीएको सुनुवारले बताएका थिए ।
कार्यक्रम संयोजक केआर विजय दाहालले वैदेशीक रोजगारमा जानेहरुलाई ब्यवस्थीत, सुरक्षित र मर्यादित वातावतरण सिर्जना गर्ने उद्देश्यले सामी परियोजनाको सञ्चालन भएको बताए । सिन्धुली जिल्लाबाट वैदेशीक रोजगारमा राहदानी बनाएर जाने मध्य सबैभन्दा बढि ७ हजार ३ सय ४१ जना श्रमका लागि गएका छन् भने १ हजार ६ सय ७४ जना विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न गएको बिबरण अभिलिखित भएको जनाए ।
यस्तै सबैभन्दा बढी सिन्धुलीको कमलामाई नगरपालिकाबाट २ हजार ५ सय ५२, दुधौली नगरपालिकाबाट १ हजार ८ सय ८४, तिनपाटन गाउँपालिकाबाट १ हजार १ सय ८९, मरिण गाउँपालिकाबाट १ हजार १ सय ५३ जना,हरीहरपुरगढी गाउँपालिकाका बाट ७ सय ४६, घ्याङलेख गाउँपालिकाबाट ५ सय ९६, गोलन्जोर गाउँपालिकाबाट ५ सय ४६,सुनकोशी गाउँपालिकाबाट ५ सय ४० र फिक्कल गाउँपालिकाबाट ३ सय ४९ जना वैदेशिक रोजगारीमा जानको लागि राहदानी लिएको पत्रकारहरुलाई जानकारी गराइएको थियो ।
चालु आर्थिक बर्षमा सामीबाट वैदेशिक रोजगारमा जाने ७२ जनाले मनोसामाजिक परामर्श लिएको दाहालले बताए । कमलामाई नगरपालिकाका सामी परियोजनाका फोकल पर्सन बविन्द्रलाल माझीले वैदेशीक रोजगारमा जानेहरुलाई सूचनाको पहुँच, सीप तालिमका लागि सहजीकरण, न्यायमा पहुँच, साइकोसोशियल काउन्सिलिङ, वित्तिय साक्षरता सम्बन्धी जानकारी गराउने आप्रवासी स्रोत केन्द्रको मुख्य काम रहेको बताएका थिए ।










