नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीले मनायो शिक्षक दिवस, ४८ जना शिक्षकहरु सम्मानित


सिन्धुलीः नेपाल राष्टिय शिक्षक संगठन सिन्धुलीले ४४ औं शिक्षक दिवस तथाा २४ औं जिल्ला परिषद विभिन्न कार्यक्रम बीच भब्य रुपमा मनाएको छ । संगठनका जिल्ला अध्यक्ष डा. हरिप्रसाद पोखरेलको अध्यक्षता तथा राष्टिय समितिको उपमहासचिव श्री एकदेव पन्थीको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा सिन्धुली जिल्लाका ४८ जना निवृत्त शिक्षकहरुलाई सम्मानपत्र, मायाको चिनो र नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा एक ब्यक्ति ३ पुस्तक अभियान अन्तर्गत संगठनको कार्यालयमा स्थापना गर्न लागिएको पुस्तकालयको शुभारम्भ गर्दै प्रमुख अतिथिले ३ पुस्तक अध्यक्ष पोखरेललाई हस्तान्तरण गर्नु भयो ।

शिक्षक संगठन सिन्धुलीको मुखपत्र शिक्षक आवाजको विमोचन गर्दै प्रमुख अतिथि पन्थीले भन्नु भयोः पेसागत हकहितका साथसाथै गुणस्तरीय शिक्षाका लागि क्रियाशील यस गौरवशाली संगठनको उदय हाम्रा अग्रज शिक्षकहरुको संघर्ष, बलिदान र निरन्तरको प्रयासबाट भएको हो । वलिदान, संघर्ष र पेसागत आन्दोलनको बलमा स्थापित शिक्षक संगठन न्याय प्रेमी शिक्षकहरुको एकमात्र आशाको केन्द्र भएकोले यस मातृसंगठनमा आवद्ध हुन म सम्पूर्ण न्यायप्रेमी शिक्षकहरुलाई अनुरोध गर्दछु । सरकारले एक थान शिक्षक ऐन समेत ल्याउन नसकेकोमा कटाक्ष गर्दै उहाँले भन्नु भयोः जवसम्म सरकारले शिक्षकको जायज माग पुरा गर्दैन तवसम्म हामी आन्दोलनको मोर्चाबाट बाहिरने छैनौं । यस संगठनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको तर्क राख्दै उहाँले अव शिक्षकहरुपनि रुपान्तरण भएर गुणस्तरीय शिक्षाका लागि थप क्रियाशील हुनुपर्ने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्टिय शिक्षक संगठनका अध्यक्ष डा. पोखरेलले भन्नु भयोः नेपाल राष्ट्रिय शिक्षक संगठन मात्र एउटा यस्तो सच्चा पेशागत संगठन हो जो राजनैतिक आग्रह पूर्वआग्रह भन्दा माथी उठी विशुद्ध शिक्षकहरुका पेशागत हकहितको लागि क्रियाशील रहन्छ । विद्यालयको शैक्षिक वातावरण सुधार गरी अभिभावक तथा विद्यार्थीहरुसँग सहकार्य गर्ने हैसियत राख्न सकेमात्र पनि शिक्षण पेसा मर्यादित हुने जिकिर गर्दै उहाँले उहाँले बाटो विराएर अन्यत्र जानु भएका तथा निष्कृय भई बस्नु भएका आम शिक्षकहरुलाई आफ्नो मातृसंस्थामा आवद्ध हुन समेत आह्वान गर्नुभयो ।

शिक्षकहरुलाई आस्थाको आधारमा दुःख दिने कार्य तुरुन्त बन्द गर्न अनुरोध गर्दै उहाँले भन्नु भयोः शिक्षक माथिको अन्याय र विभेद नरोके जस्तोसुकै आन्दोलन गर्न पनि हामी तयार छौं । शिक्षक संगठनको भावि योजना बारे बताउँदै पोखरेलले भन्नु भयोः हामी केवल पेसागत हितका लागि मात्र होइन लाखौ बालबालिकाहरुको भविष्यका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा समेत उत्तिकै क्रियाशील रहन्छौं । आगामी दिनहरुमा नेतृत्व विकास तालिम, आइसिटी तालिम, शिक्षक तयारी तालिम, शिक्षकको पेसागत उन्नययनका विभिन्न तालिमहरु सञ्चालन गर्दै संगठनलाई थप गतिशिल बनाइने योजना प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा राष्टिय समितिका सदस्य पुरुषोत्तम पहाडी, वागमति प्रदेशका वरिष्ठ उपाध्यक्ष सुरेशप्रसाद फुयाल, पूर्व जिल्ला अध्यक्षहरु फाल्गुणी शर्मा, कुलमणि आचार्य, टिकावहादुर देवकोटा, गोकर्ण थापा लयागतका वक्ताहरुले परिषद सफलताको शुभकामना मन्तव्य ब्यक्त गर्नु भयो । संगठनका सचिव रमेश कार्कीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा ९ वटै स्थानीय तहका शिक्षक संगठन आवद्ध शिक्षकहरुको सहभागिता रहेको थियो ।

No description available.
No description available.
No description available.
No description available.