कैलाली: पूर्वउपप्रधान एवं अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सुदूरपश्चिमका एमाले नेताहरुलाई आज सिस्नुपानी लगाउनु भएको छ ।
सुदुरपश्चिममा मनाइने विशु पर्व मनाउने क्रममा एमाले ग्रासरुट अभियानका सुदुरपश्चिमका कमाण्डरसमेत रहनुभएका उपाध्यक्ष पौडेलले सिस्नुपानी लगाउनु भएको हो । उपाध्यक्ष पौडेलले सचिव तथा सुदुरपश्चिम इञ्चार्ज लेखराज भट्ट,स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटब्यूरो सदस्य निरु पाल, प्रदेश अध्यक्ष दामेदर भण्डारी, प्रदेश सचिव धर्मराज पाठकसहितका नेताहरुलाई पालैपालो सिस्नुपानी लगाउनु भएको हो ।
सो अवसरमा उहाँले बिशु पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाइनु पर्ने बताउनु भयो । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको विशु पर्व तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई धनगढीमा सम्बोधन गर्दै शुक्रबार उपाध्यक्ष पौडेलले यस्तो बताउनु भएको हो ।
‘मलाई विशु पर्वका बारेमा थाहा थिएन, इञ्चार्ज कमरेड (लेखराज भट्ट) ले यसका बारेमा भन्नुभयो। अनि यसको महत्व हेर्दा यो सुदूरपश्चिमको मात्र होइन, यो राष्ट्रिय पर्व हुनुपर्छ’ उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘सिस्नु लगाउनु थेरापी हो। सिस्नुको पोलाईले हानी गर्दैन। यसले शरीरमा नयाँ उर्जाको सञ्चार गर्छ ।’
सुदूरपश्चिममा नयाँ वर्षको दिन विशुपर्व मनाइने गरिन्छ । विशुपर्वमा एकअर्कामा सिस्नु छ्याप्ने र वर्षभरी भएको मनमुटाव, नराम्रो कुरा त्यागेर नयाँ उमंगका साथ नयाँ वर्ष मनाउनुपर्छ भन्ने चलन रहेको छ। देशभरी नयाँ वर्ष मनाउने फरक फरक तरिका भएपनि सुदूरपश्चिममा भने सिस्नु छ्याप्दै नयाँ वर्ष मनाइन्छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा देवर–भाउजु, साथी–साथीले एक अर्कालाई सिस्नु छ्याप्दै विसु पर्व मनाई रहेका बेला, तराईमा पनि यो पर्व सिस्नु छ्याप्दै धुमधामका साथ मनाइएको हो। नेकपा एमालेको प्रदेश कमिटीले पनि धनगढीमा सिस्नु छ्याप्दै विसु पर्व मनाएको हो। पार्टीको ‘मिशन ग्रासरुट पनि चलिरहेको छ। कार्यकर्ताबीच एकअर्का प्रतिको मनमुटाव पनि हराओस्, सबैले सबैलाई शुभकामना पनि दिउन भनेर कार्यक्रमको आयोजना गरिएको नेकपा एमालेका प्रदेश ईञ्चार्ज लेखराज भट्टले बताउनु भयो ।
‘वितेको वर्षभरी भएका तिता कुराहरू बिर्सने गरी विशु मनाइने गरिन्छ। सिस्नु छ्याप्नु आफैमा थेरापी पनि हो। विशुको दिन सिस्नु छ्यापेको व्यक्तिबीच वर्षभरी मनमुटाव हुनुहुँदैन भन्ने मान्ता छ,’ सचिव भट्टले भन्नुभयो, ‘नेता कार्यकर्ताबीच पनि मनमुटाव हुनुहुँदैन।’
प्रदेश कमिटीले आयोजना गरेको विसु पर्व तथा नया वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा एमाले उपाध्यक्ष पौडेलले नेता कार्यकर्तालाई सिस्नु हानेर रमाइलो गर्नुभएको थियो । पौडेलले पनि नेता कार्यकर्ताले लगाएको सिस्नु ग्रहण गर्नुभयो । नेकपा एमालेका सुदूरपश्चिम सहईञ्चार्ज कर्ण बहादुर थापाले परम्परादेखि चलि आएको संस्कृति जगेर्ना गर्ने दायित्व पार्टीको पनि भएकाले धनगढीमा प्रदेश स्तरको विशु पर्व मनाएको बताउनु भयो ।
नयाँ वर्षको दिन सिस्नु नलाए विष हुने, वितेका वर्षका जस्ता दुखकष्ट नयाँ वर्षमा आई रहने मान्यता छ । सिस्नुको पोलाईले शरीरमा नयाँ उर्जा दिने भएकाले पनि पुराना दुःख कष्ट मनमुटाव बिर्सेर नयाँ उमंगका साथ विसु पर्व मनाउने परम्परा रहेको नेकपा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताउनु भयो ।
समाजमा झैझगडा भएर बोचचाल बन्द भएकाहरू, मनमुटाव भएकाहरू पनि विसु पर्वका दिन सिस्नु छ्यापेर बोलचाल सुरु गर्ने र मनमुटाव हटाउने प्रचलन छ । रमाइलोका लागि बढी जसो देवर भाउजु र साथी–साथीले एक अर्कालाई सिस्नु छ्याप्दै रमाइलो पनि गर्ने गर्छन्। विसु पर्वका दिन एकै ठाउँमा भेला भएर सिस्नु छ्याप्ने, नाचगान गर्ने, मिठा मिडा परिकार खाने गरी रमाइलो गरिन्छ।