नेकपा एमाले सिन्धुलीले पार्टी सुदृढीकरण तथा विस्तारका लागि फागुन १० गतेदेखी थालेको २ महिने ‘मिसन ग्रासरूट’ अभियानलागि तोकेका केन्द्रीय नेताहरु कार्यक्षेत्रमा एक जना मात्रै खटिएको पाइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन गर्दै थालिएको अभियानलाई सफल बनाउनका लागि पार्टी केन्द्रले एक जिल्लाका केन्द्रीय सदस्यलाई अर्को जिल्लामा खटाएको थियो । सिन्धुली जिल्लामा पार्टी केन्द्रले पालिकानैं कार्यक्षेत्र तोकेर खटाएका तीन केन्द्रीय सदस्यहरु मध्ये एक जना मात्रै अभियानमा सक्रियता पूर्वक खटिएको देखिएको छ ।
सिन्धुली एमालेका अनुसार कार्यक्षेत्रमा खटिनेमा केन्द्रीय सदस्य एवम् वागमती प्रदेशका पूर्व मन्त्री शरेश नेपाल मात्रै हुन्, अन्य केन्द्रीय सदस्यहरु भने यो वा त्यो बहानामा फिल्डमा आएका छैनन् ।
पार्टी केन्द्रले सिन्धुलीको दुधौली नगरपालिका, फिक्कल गाउँपालिका र तीनपाटन गाउँपालिकामा सरेश नेपाललाई कार्यक्षेत्र तोकेको थियो । त्यसैगरी ध्याङलेख, हरिहरपुरगढी र मरिण गाउँपालिकामा केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दाबा लामा र कमलामाई नगरपालिका, गोलन्जोर र सुनकोशी गाउँपालिकामा अर्की केन्द्रीय सदस्य प्रभा बराललाई जिम्मेवारी तोकेको थियो । एक जिल्लाका केन्द्रीय नेतालाई अर्को जिल्लामा पठाउँदा संगठनको वास्तविक अबस्था र जिल्ला नेताहरुको स्थानीय नेता कार्यकर्ता बीचको प्रभाव पनि थाहा लाग्ने र पार्टीलाई सुदृढ बनाएर अगाडि लैजान सहयोग पुग्ने एमालेको बुझाई रहेको थियो ।

तर सिन्धुलीमा खटिएका दुई केन्द्रीय सदस्यहरु प्रभा बराल र दाबा लामाले पार्टी केन्द्रले खटाए अनुसारको जिम्मेवारी पुरा नगरेको एमाले सिन्धुलीका संगठन विभागका एक सदस्यले बताए । उनका अनुसार सिन्धुलीमा अभियान प्रारंभ गर्ने पहिलो बैठकमा लामा अनुपस्थित थिए भने बरालले पनि दुई बैठकपछि पालिका छोडेकी हुन् । एमाले बागमती प्रदेश कमिटीले जिम्मेवारी तोकेका प्रदेश कमिटी सदस्यहरुले स्थानीय पालिकामा हुने पार्टीका आन्तरिक भेला, बैठक र छलफलमा सहभागिता हुन पटक पटक बोलाउँदासमेत जिम्मेवार केन्द्रीय प्रतिनिधीहरु आउनु भएन, एक सदस्यले सन्देश जनप्रियसँग भने ।

सिन्धुलीमा जारी मिसन ग्रासरुट अभियानका क्रममा एमालेले पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक, अन्तक्रिया र जिल्ला तथा स्थानीय तहका नेताहरुको कार्यशैली, कार्यकर्ताहरुसँगको व्यवहार, पार्टीभित्र मौलाएको गुटगत अन्तरविरोध बुझ्ने र त्यसलाई हल गर्नेसहितको मिसन ग्रासरुट अभियान सञ्चालन गरिरहेको छ । तर यो अभियानमा सिन्धुलीका मरिण, हरिहरपुरगढी, ध्याङलेख, सुनकोशी र फिक्कल गाउँपालिकामा पार्टी चलेपनि अन्यत्र पालिकामा गुट चलिरहेको आरोप एमाले भित्रै लाग्न थालेको छ ।
गत साता सिन्धुली एमालेद्धारा आयोजित जिल्ला स्तरिय बहृत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधनगर्दै सिन्धुलीको मिसन ग्रासरुट अभियानमा निरन्तर खटिएका केन्द्रीय सदस्य सरेश नेपालले भनेका थिएः सिन्धुली एमालेमा निकै ठूलो समस्या देखिएको, जुन कार्यकर्ता तहमा होइन नेताहरुमा मात्रै हो । अभियनका क्रमममा पार्टी र संगठनलाई विधी पद्धति र योजनामा निर्ममताका साथ सञ्चालन गरे समस्या समाधान हुने उनको भनाई थियो ।

हिजो मंगलवार साँझ सन्देश जनप्रियसँगको कुराकानीका क्रममा नेता नेपालले भनेका छन्ः पार्टी भित्र सामाधान गर्नै नसकिने समस्या छैन, त्यो आन्तरिक छलफल र आतमालोचनाबाट हल हुन्छ, स्थानीय कार्यकर्तामा देखिएको उत्साहलाई नेताहरुकले आत्मसात गरे एमाले एक नम्बरको पार्टी बन्छ, त्यसलाई कसैले रोक्न सक्तैन ।
उनले नेपाल कम्युनिष्ट पार्टीको २००६ सालमा स्थापना भएपछि ८ सालमैं सिन्धुलीमा कम्युनिष्ट पार्टी गठन भएको स्मरण गराउँदै त्यसको इतिहाँस खोज्ने र अभिलिखित गर्न आवश्यक भएको बताए ।
अभियानका क्रममा खटिने नेताहरुलाई एमालेले होटलमा बस्न बन्देज लगाएको छ । पछिल्लो समय पार्टी नेताहरु सुविधाभोगी भएको र कार्यकर्ता र जनताबाट आलोचित बन्नुपरेपछि अभियानमा खटिने नेताहरुलाई कार्यकर्ताकै घरमा बस्न निर्देशन दिइएको थियो ।
अभियानका लागि एमालेले जिल्ला कमिटीका सदस्यहरु, जिल्ला कमिटीका सल्लाहकार, नौं वटै पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु, वडा कमिटीका अध्यक्ष तथा सचिव, बागमती प्रदेश कमिटीका सदस्य, बागमती प्रदेश कमिटीका सल्लाहकार तथा विभिन्न विभागीय सदस्यहरुलाई परिचालन गरिएको भएपनि जिम्मेवारी अनुसार उनीहरु फिल्डमा खटिएका छैनन् ।
एमालेले जारी गरेको अभियानको निर्देशिका अनुसार पार्टीका केन्द्रीय सदस्य र सांसदहरूलाई गाउँमा केन्द्रीत भएर संगठन गर्न निर्देशनसहित ११ वटा कार्यादेश तोकेर जिम्मेवारी दिइएको छ । फिल्डमा बसेर ती जिम्मेवारी पुरा गर्ने भन्दा गुटगत मानसिकता बोकेर गतिविधी भइरहेको भन्दै कार्यकर्ताहरुले नेताहरुको आलोचना गरिरहेको देखिएको छ ।
एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले पार्टीको संगठन सुदृढीकरणको दुई महिने अभियानपछि पार्टी नयाँ ढंगले अघि बढ्ने विश्वास लिएका छन् । उनले सन्देश जनप्रियसँगको कुराकानीमा अभियानले पार्टीलाई सुदृढ र बलियो बनाउने बताए ।
जेष्ठ नागरिक सम्मानित
नेकपा एमालेले मिसन ग्रासरुट अभियान अन्र्तगत समाजमा योगदान पु¥याएका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । एमाले कमलामाई नगरपालिका अन्र्तगत वडा नं. ५ कमिटीले आयोजना गरेको कार्यक्रममा जना जेष्ठ नागरिकलाई सम्मान गरिएको एमाले कमलामाई नगरकमिटी इन्चार्ज हरि अधिकारीले बताए । राजनैतिक पुर्वाग्रह बिना कार्यक्रममा सहभागी वडाका सम्पूर्ण जेष्ठ नागरिकलाई एमाले बागमती प्रदेश कमिटी सदस्य डम्बर कार्कीले खादा तथा प्रमाणपत्रले सम्मान गरेका थिए । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु खड्ग खत्री, रामवहादुर विकलगायतको सहभागिता थियो । अभियानका क्रममा जेष्ठ नागरिकलाई सम्मान गर्ने कमलामाईको ४ र ५ नं. वडा कमिटी सिन्धुली जिल्लाकै पहिलो वडा कमिटी बनेको छ । -यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।