सुन्दा पनि पत्याउनै मुस्किल हुने एउटा बिबरण सार्वजनिक भयो । आठ महिनामा अस्पताल भित्र आठै लाखको ‘कोल्ड ड्रिङग्स’ हजम भयो । त्यसको बिल भपाई पनि दाखिला छ । त्यसका भुक्त भोगीहरु ‘कोल्ड ड्रिङग्स’का नाममा ड्रिङग्सनैं हजम भएको रुपमा बुझ्ने गर्छन् तर नारायणी अस्पताल प्रशासन भने त्यसलाई अस्वीकार गर्छ ।
सर्वसधारणको उपचार गर्दैआएको बीरगञ्ज स्थित नारायणी अस्पतालमा भएको अनियमितता र भ्रष्ट्राचारको कारण आफैं थिलथिलो हुन थालेको डरलाग्दो तथ्य बाहिर आएको छ ।
अस्पताल स्रोतका अनुसार लेखा र प्रशासनको मिलोमतोमा लाखौं रकम भ्रष्टाचार भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापामारीगर्दै बिल भपाई कब्जामा लिएपछि अस्पताल भित्र वर्षोंदेखीको अनियमितता र भ्रष्ट्राचारको डरलाग्दो तथ्यहरु खुलेको भेटिएको हो । अस्पतालका लागि खरिद गरिएको मेसिन, औजार र उपकरणहरु मर्मत गरेको तथा भ्रमण भत्ताका नाममा लाखौं खर्च भएको शिर्षक भेटिएपनि आवश्यक विल भपाईहरु फेला नपरेको स्रोतले बताएको छ
यस अगाडि अखवारको अनलाइन संस्करणले अस्पतालमा भ्रष्ट्राचार र अनियमिततामा मेसु, स्टारकिपर, लेखा प्रमुखको संलग्नता सम्बन्धी समाचार प्रमुखताका साथ प्रकाशन गरेको थियो । आयोग स्रोतले दिएको जानकारी अनुसार अस्पतालमा विभिन्न शीर्षकमा रकम खर्च भएको देखाईए पनि भुक्तानी गर्दा त्यसलाई पुस्ट्याई हुने कुनै पनि कागजात नरहेको र यो क्रम वर्षोंदेखी चल्दै आएको छ । अझ रमाईलो कुरा त भ्रमणभत्ता शीर्षकमा खर्च देखाएर महिनामा १ लाखको कोल्ड ड्रिंक्स खरिद गरेको र यो ८ महिनासम्म निरन्तर पिइरहेको तथ्य खुलेको छ । अस्पताल स्रोतले कोल्ड ड्रिंग्सको यो बील रक्सी खाएर बनाइएको दाबी गरेको छ । प्रत्येक सँझ हुने भेटधाटमा यो खर्च भएको बताइन्छ । त्यसैगरी अस्पतालबाट डिजल तथा पेट्रोलमा पनि लाखौं खर्च भएको छ । त्यो खर्च दलका नेता र पत्रकारका नाममा खर्च भएको स्रोतको दाबी छ । त्यसैगरी नेताहरुलाई अस्पताल प्रशासनले खुशी बनाउन गाडी उपलव्ध गराउने गरेको कर्मचारीहरुनैं बताउने गर्छन् ।
मर्मत र खरिदका नाममा ६० लाख हजम !
अस्पताल प्रशासनले आन्तरिक कोषको ३० लाख देखाएर २९ लाख ५५ हजार ४३५ रुपैयाँ मेसिनरी मर्मतमा खर्च भएको देखिएको छ । अस्पताल प्रशासनसँग चालु आव २०७९ र ८० साउन देखि फागुनसम्म मेसिनरी मर्मतमा भएको खर्च देखाइए पनि कुन मेसिन कहिले र कसले मर्मत ग¥यो भन्ने कुराको कुनै बिल फेला नपरेको र अर्को भुक्तानीमा मेसिनरी खरिद गरेको भन्दै ६० लाख खर्च भएको देखाईएको छ । कुन मेसिन कुन फर्म वा सप्लायर्सबाट खरिद गरियो र सो मेसिन कुन वार्डमा प्रयोग भईरहेको छ ? त्यसको जवाफ अस्पताल प्रशासनले दिन सकिरहेको छैन ।
त्यसैगरी अस्पतालको दाखिला राजिष्टरमासमेत खरिद गरिएको मेसिनरीको रेकर्ड फेला नपरेपछि अनुसन्धानमा संलग्न अन्तियारको टोलीनैं चिकित परेको थाहा लागेको छ । नष्ट नहुने सामाग्रीहरुको खरिद गर्दा र प्रयोगमा ल्याउँदा उक्त सामाग्रीमा देखिनेगरि जिन्सि नम्बर उल्लेख गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि अस्पतालका कुनै पनि सामाग्रीमा जिन्सी खाता पाना नम्बर उल्लेख नभएको तथ्यहरुले पुष्टि गरेको छ । अस्पताल कर्मचारी श्रोत अनुसार स्टोर शाखा र लेखा शाखाको मिलोमतोमा अस्पतालको रकम दोहन हुनेगरी आफ्नो प्राईभेट अस्पतालमा लग्ने गरिएको आरोप लाग्न थालेको छ ।
सन्देश जनप्रिय संवाददाताले लेखा शाखा र स्टोर किपरसँग रेकर्ड माग गर्दा उनीहरु दुबैले मागेको कागजात दिन मानिरहेका छैनन् । अस्पतालका सुपरिटेन्डेन्ट डा. चितरन्जन साहले आफु हालै मात्र बहाली भएको र सरुवा भई गएका लेखापालले विस्तारै बरबुझारथ गर्ने क्रम चलिरहेको बताए । उनले अस्पतालको समाचार आएपछि आफुले पनि चासो लिएको र बुझबझारथका लागि २१ दिनको समय मागेकाले सबै काम सकिएपछि रमाना लिएर जाने सन्देश जनप्रियसँगको कुराकानीमा बताए । लेखा शाखाले आ व २०७८ र २०७९ कुनै खर्च विवरण दिन मानेन भने चालू आवको ८ महिना श्राउन देखि फागुनसम्मको मात्र खर्च विवरण दिएको थियो । अस्पतालको इमरजेन्सी वार्डमा कार्यरत कर्मचारीका अनुसार आवश्यक सामान माग फारम माग्दा स्टोरले दिन्छ कहाँबाट खरिद भयो, रेकर्ड राखेको छ कि छैन हामीलाई केही पनि थाहा हुँदैन । नारायणी अस्पतालका तत्कालीन निमित मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वीरेन्द्रबहादुर प्रधान, लेखापाल सुदिप माझी र स्टोर शाखाका कर्मचारी दामोदर अधिकारी लगायतको आपसी मिलोमतोमा अनियमितता हुने गरेको सोही अस्पतालका कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने ।
तत्कालीन लेखापाल माझीको सरुवा भएको २ महिना बितिसकेको छ तर हालसम्म पनि सरुवा भई आएका लेखापाल अखिलेसप्रसाद सहनीलाई बरबुझारत गरेका छैनन् । कानुन त सरुवा भएको २० दिन भित्र आफ्नो जिम्माको काम बरबुझारत गर्नुपर्ने हुन्छ । तर माझीले अख्तियारको बहाना बनाएर हालसम्म बरबुझारत गरेका छैनन् । माझीले खर्च आम्दानीको एकसरो विवरण मात्र दिएका छन् । केही दिन भित्रै कुरा बुझाउने भन्नुभएको छ, उहाँले लिएर आउनु हुन्छ, सहनीले मंगलवार साँझ सन्देश जनप्रियसँग भने ।
स्रोतका अनुसार अस्पतालको स्टोरमा कार्यरत दामोदर अधिकारी र डाक्टर सुरेन्द्र चौधरीको साझेदारीम खुलेको शुभलक्ष्मी अस्पताललाई आवश्यक पर्ने औषधि र उपकरणसमेत नारायणी अस्पतालबाटै लैजाने गरिएको आरोप लाग्न थालेको छ । कर्मचारीहरुका अनुसार अस्पातलका केही उपकरणसमेत बिना दाखिला निजी अस्पतालमा लगेको र त्यसले सर्वसाधारणको स्वास्थ्य जाँचमा असर पारिरहेको बताइन्छ ।
अनियमिततामा सञ्जाल !
अस्पतालका यस अघिका मेसु डा. बिरेन्द्र प्रधानको नेतृत्वमा रहेका चिकितस्कहरुको टोलीले स्टोर हेर्ने सुब्बा सुशिलप्रसाद यादवलाई प्रलोभन तथा प्रभावमा परेर अनावश्यक तथा गुणस्तरहिन केही समान खरिद गरी बाँकि सामानै खरिद नगरी बिल मात्रै बनाई स्टोर दाखिला गर्न तथ्य बाहिर आएको छ । नागरिकको गुणस्तरीय स्वास्थ्य सेवाका लागी नेपाल सरकारबाट प्राप्त भएको रकमबाट औषधीजन्य बस्तुहरु खरिदका नाममा हिनामिना गरेको देखिएपछि स्वास्थ्यकर्मीबाटै त्यसको आलोचना हुन थालेको हो ।
अस्पतालका एक जना पुराना चिकित्सक भन्छन्ः डा. दिपक चौरसिया, डा. उदयनारायण सिंह, नरसिङ प्रमुख श्रृती साहलगायत चिकित्सकहरुको एउटा संजाललेनैं डा. बिरेन्द्र प्रधानलाई नेताहरुसँग लविङ गरी मेसु बनाउन लगाएका थिए । पछिलो सात वर्षदेखि ति चिकितस्कहरुको संजाललेनंै त्यहाँ आफु अनुकुलका मेसु नियूक्ती गराउँदै अनियमितताको भण्डारनैं खडा गरेको बताइन्छ । अहिलेका मेसु डा. चितरंजन साहलाई सोही समुहले लविङ गरी मेसु बनाउन लगाएका थिए ।
मेसु निजी अस्पतालका सञ्चालक !
मेडिकल माफिया र उनीहरुको सञ्जालमा जोडिएका राजनैतिक दलका नेताहरुको सक्रियतामा तत्कालिन मेसु डा. बिरेन्द्रवहादुर प्रधान मंसिरमा सेवा निवृत भए पछि निजी अस्पताल (सर्बोत्तम अस्पताल) का संचालकसमेत रहेका डा. चितरंजन साहलाई सो समुहले मेसु नियूक्त गराई अस्पतालमा आफ्नो लुटको सत्ता सञ्चालनमा निरन्तरता दिइरहेका बेला त्यस सम्बन्धी सामाचारहरु बाहिर आउन थालेपछि सञ्जालमा खैलाबैला मच्चिएको छ ।
स्मरणीय छः समाननंै खरिद नगरी भुक्तानी गर्ने कार्य आफुले नगर्ने अडान राखे पछि अस्पतालका लेखापाल रंजन कर्णको त्यहाँबाट सरुवा गराई जिल्ला वन कार्यालयमा पठाईएको थियो । लेखापाल कर्ण हालका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरी पुष्करका सहोदर भाई हुन् । कर्णको ठाउँमा सुदिप माझीलाई ल्याई भुक्तानी गराउन तत्कालिन मेसु प्रधान र स्टोर किपर शुसिलप्रसाद यादव सफल भएका थिए ।
यता आधा दशक देखि अस्पतालमा डेरा जमाएका स्टोर किपर सुब्बा शुसिलप्रसाद यादवको पनि सरुवा संघन सहरी तथा भवन निर्माण आयोजना, पर्सामा एक महिना अगाडी भए पनि मेसु साहले उनलाई रोकेर राखेका छन् । यादवको ठाउँमा आएका सुब्बा अलपत्रमा परेका छन् । स्टोरमा खरिद भएको उपकरण तथा सरसमान नरहेको र कागजपत्र पनि फेला नपरेको अवस्थामा अख्तियारले समेत खोजि नीति गर्न थालेपछि समग्रमा मामिला मिलाउन सुब्बा यादवलाई मेसुले रोकेको त्यहाँका कनिष्ठ कर्मचारीहरु बताउने गर्छन् ।
–अमित कुमार, बीरगञ्ज
-यो समाचार आजको जनप्रिय साप्ताहिकले प्रमुखताका साथ प्रकाशन गरेको छ ।
