जनताबाट आलोचित र तिरस्कृत बन्दै नेताहरू !

सामान्य रुपमा नेता भन्नाले नेतृत्व गर्ने भनेर बुझिन्छ । परिवारको नेतृत्व गर्ने बुबा आमा वा हजुरबुबा हजुरमुमा घरको नेता वा मुलि हो । बिद्यालयको हेडसर, बैंकको म्यानेजर, कार्यालयका प्रमुख, सबै सबैनैं आफ्नो आफ्नो क्षेत्रमा लागेर नेतृत्व गरेका नेताहरूनैं हुन् । सबै कार्यालय वा सस्थाको सबैभन्दा मुलि वा उसकै पेरिफेरीमा सञ्चालन गर्ने मुल कार्यकर्तानैं नेता हो ।
आज नेता भन्ने बित्तिकै मुलतः राजनीतिकर्मीलाई भनिन्छ । राजनीति गर्ने कार्य स्वयंसेवक कार्य हो । स्वयंसेवा भन्ने बित्तिकै यसमा नेतृत्व वा अगुवाइ गर्ने कार्य मात्रै पर्दैन कार्य गर्ने, तल बसेर जनसेवा गर्ने काम पनि पर्दछ । जनसेवा गर्ने कार्य आफैमा निस्वार्थ कार्य हो । जनतालाई परेको दुःख पिर मर्कामा साथ सहयोग गर्ने देखि नीति निर्माणका तहमा बसेर जनतालाई राहत हुने खालका नीति बनाउने र त्यसको कार्यान्वयन गर्ने कार्यनंै राजनीति गर्नेको मुल मर्म हुन्छ ।
नेता शब्दमा कुनै खोट छैन । तर अचेल नेता भन्ने बित्तिकै फटाहा काम गर्ने, ढाट्ने छल्ने, लुच्याइ गर्ने, बिश्वास नलाग्ने, समाजको प्रभुत्व बर्गले वा आर्थिक सम्पन्न बर्गले नाक खुम्च्याउनेमा पर्दछन् । बा आमाले छोराछोरीले भनेको टेरेनन, अलिक स्वतन्त्र जिवनको लागि आफ्नो गतिविधि गरे भने (खुब नेतो भएर हिडेको छ) भन्दै गाली गर्छन् । आखिर आज किन नेता भन्ने शब्द प्रतिनैं यति धेरै घृणा र अबिस्वास त ?

यसको कारण खोतल्न हामीले हाम्रो देशको राजनीतिक इतिहास केलाउन आवश्यकछ । जब नेपालमा जहानिया राणा शासनको अन्त्य भएर नागरिक अधिकारको प्राप्तिभयो । त्यतिबेला कांग्रेस र राणाको संयुक्त सरकार बन्यो । कांग्रेसले गठन गरेको मुक्ति सेनाका नाममा भएको लुटपाटले त्यतिबेला तेरो घरमा कांग्रेस पसोस भनेर गाली गर्ने भाष्य निर्माण भएको हामी पाउछौँ । त्यो हेर्दा सामान्य लागेपनी दल प्रति जनतालाई बितृष्णा जगाउने एउटा सानो जगका रुपमा मान्नु पर्ने हुन्छ । निर्दलिय पञ्चायती ब्यबस्थामा पञ्चायती नेताले पनि राजनीतिलाई फोहोरी र बिकृत बनाए । घरमा राम्रो गाई ब्याएपछि दूध, दहि र घिउ बोकेर प्रधानपञ्चलाई ख्वाउनु पर्ने, भाले, खसिको साप्रो मात्रै होइन छोरी राम्री भंै भने पनि बुढेसकालको प्रधानपञ्चलाइ टक्¥याउनु पर्ने परिस्थितिको निरिहताले नेता भन्ने बित्तिकै जनतामारा भन्ने अर्को भाष्य निर्माण भयो । बीस २०४६ सालमा नेपालमा निरंकुश पञ्चायती ब्यबस्थाको अन्त्य संगै बहुदलीय प्रजातन्त्रको स्थापनाभयो । तत पश्चात आम निर्वाचन, गाउँ बिकास समिति र नगरपालिकाको स्थानीय निकायका निर्वाचनहरु सम्पन्न भए । नेताको कार्यशैलीमा तात्विक भिन्नता आएर उहीं पञ्चायती मन्त्री जस्तै रवाफ उस्तै सानले गर्दा नव धनाढ्य अर्थात नव सामन्त बर्गमा नेताहरू रुपान्तरण भए ।
गाउँ गाउँमा जनताले हिजो ढुकुटीमा लुकाएर ज्यान बचाएको, आमाको साडी लगाएर भगाएको, चोटामा राखेर लुकाउँदै कोपरामा दिशा–पिसाब गराएर फालेको सबै जनताको दुःख अघि पछिका अगुवा पछुवा सान सौकात र रवाफका कारण सबै भुले । जन पक्षीय मुद्दा ओझेल प¥यो । सत्ताकै वरिपरि लुछाचुडिमा दिनहरु बिते, हिजो मेहनत गरेर कुखुरा पालेर बेचेको पैसाले फेरिदिएको नेताको पाइन्ट सम्झिदै जनता नेतालाई गाली गर्न लागे भने स्थानीय सरकारका अध्यक्षहरु पनि प्रधानपञ्चकै शैलीमा प्रस्तुत भइरहे । सज्जन क्रान्तिकारी सोच भएकामात्रै लागेनन् फट्याइँ गर्ने, गाउँमा सापटी पैसा नतिर्ने, धम्क्याएर चन्दा असुल गर्न पाइन्छ कि भन्ने आशाले गाउँ ठाउँ समाजले नपत्याएका मानीस पनि लागे । त्यसले राजनीतिलाई झनै बिकृत बनायो ।
अहिलेको परिस्थिति झन भयाबह छ । मान्छे केही काम नपाएपछि, वा कुनै पनि ठाउँमा नबिकेपछी राजनीतिमा प्रवेश गर्छ वा नेता बन्छ भन्ने भ्रम स्थापित छ । हाम्रो राजनीतिक नेतृत्वले त्यता तिर कहिल्यै ध्याननैं दिएन । आफू बन्न वा आफैलाई बनाउनका लागि उपभोग गर्ने नीति हाबीभयो । एउटा कक्षाको प्रथम विद्यार्थी मरेर मास्टर वा खरिदार भएर सामान्य स्तरको जिन्दगी बाँचेको हुन्छ । तर अन्तिम विद्यार्थी जसलाई कक्षा भन्दा पनि नजिकैको चिया पसलमा चुरोट तानिरहेको चेलीबेटीमाथी दुर्वचन बोल्न सिपालु सुपारी गुटखाको पारखी, केही नगरी मान्छे थर्काएर नेताको प्यारो भएर राजनीतिमा ह्वात्तै प्रबेश पाइहाल्ने वडा अध्यक्ष भई हाल्ने, ढुङ्गा गिट्टी बालुवाको ठेक्का हात परिहाल्ने, त्यही पैसाको आडमा युवा पछि लगाउने अनि करोड कमाउने, युवाको ठूलो नेता बनी हाल्ने, संसदको टिकट लिएर अबैध पैसाको आडमा संसद हुने, राजनीतिको आडमा अपराध गरिहाल्ने सुलभ बाटोनैं अहिले राजनीति भएको छ । यो प्रबृत्तिले इमानदार मानिस राजनीतिमा टिकिन्न भनेर बेलैमा अर्कै बाटो मोडिने परिस्थिति बनेको छ । यस्तो परिबेशबाट निर्माण भएको नेताले आफू सत्तामा पुगेपछि कमाउने जमाउने र रमाउने बाहेक कुन जनशैली अपनाएर जनताको सेवामा तल्लिन होलान् ? कसरी नेतालाई समाजले हेर्ने भाष्य परिवर्तन होला ?
राजनीति गर्ने नेतालाई कतिपय विद्वानले रातिगेडी सँग तुलना गर्दछन् । रातिगेडिले आँखाको फोहोर सफा गरे जस्तै, जस्ले समाजका सबै बिकृतिलाई जरै देखी सफा बनाउँछ उहीनैं नेताको रुपमा स्थापित हुन्छ । नेताको नीजी जिन्दगी हुँदैन । भन्नाले परिवार हुदैन भनेको होइन । उसको लवाइ खवाई उस्को आचरण चरित्र सबै पारदर्शी हुनु पर्दछ । दिउँसो भरी राजनीतिमा लागेर राम्रो काम गरेजस्तो गर्ने र रातपरेपछी मदिरा सेवन गरेर अरुको चेलीबेटीका ढोका ढक्ढक्याउन जाने, अरुका छोरी बुहारीमाथी गिद्दे नजर लाउने आचरण बोकेको एउटा कुनै पार्टीको नेता भयो भने उसलाई समाजले कसरी पत्याउन सक्दछ र ? चरित्र व्यबहार आचरण नेतृत्वको मुल प्रश्न हो । राजनीतिक नेतृत्वले समाजलाई उदाहरणिय काम गरेर डोहोर्याउने हुनुपर्छ । गाली गलौज गर्ने तर्साउने धम्क्याउने जस्ता गुण स्वभाव भएका ब्यक्ति नेता हुने परिबेशले राम्रो समाजको परिकल्पना गर्न सकिन्न ।
कलेजमा गुण्डागर्दी गर्ने नपढ्ने, फेल हुने विद्यार्थीहरु विद्यार्थी संगठनका नेता हुने, अबैध धन कमाउने, आफै गरि नखाने दलबल सहित ठेक्कामा कमिसन खाने युवाहरु युवा नेता हुने, बिचौलियाको काम गर्ने किसानलाई मार पर्ने कार्यमा लाग्ने किसान नेताहुने, विद्यालयमा नपढाउने पार्टीको झोला बोक्ने शिक्षक नेताहुने, घुष मात्रै खाने कर्मचारी संगठनको नेता हुने अबस्था आएपछि देश कसरी बन्छ ?
हाम्रो देशको नेता उत्पादनको प्रक्रियानैं समग्रमा परिवर्तन गर्न आवश्यक छ । असल आचरणयुक्त, दीर्घकालीन हिसाबले समाजको हित सोच्ने ब्यक्तिहरुको भर्ती गरेर राजनीतिक दलले आफुलाई सच्याउन ढिला गर्न हुन्न । समाजमा नैतिक हराम र नैतिक पतनका गतिविधिमा लागेका सबै मानिसलाई राजनीतिक दलले पार्टी सदस्यता दिन इन्कार गर्नैपर्छ । त्यसैगरी सरकार सञ्चालनका सन्दर्भमा पनि जनताका सामु गरिएका वाचा पूरा गर्दै जानू पर्दछ । नेता काम गर्नैकालागि भएका हुन् भन्ने आभास दिलाउन जरुरी छ । सबै क्षेत्रमा सकारात्मक कामको थालनी गरि देश निर्माण गरे नेता भन्ने शब्दको पर्याय परिवर्तन हुन समय लाग्दैन भन्ने तथ्यलाई आत्मसात गर्न जरुरी देखिएको छ ।
यो लेख आजको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ प्रकाशन गरेको छ ।