अख्तियारको छापामारीपछि नारायणी अस्पतालमा खुल्यो अनियमितताको पोल , भ्रष्टाचारीलाई जोगाउन राजनैतिक प्रपञ्च, सर्वसाधारण मर्कामा

मध्य तराईका नागरीकले सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वीरगंज स्थित नेपाल सरकारको मातहतमा रहेको नारायणी अस्पताल भ्रष्टचारीहरुको चंगुलमा फसेर आफै बिरामी बन्न पुगेको बिबरणहरु बाहिर आएको छ ।
केन्द्रमा सरकार परिवर्तनसँगै अस्पताल विकास समिति र मेडीकल सुप्रिटेन्डेन्ट हेरफेर भए पनि कार्यशैली कुनै परिवर्तन नआएको अस्पताका चिकित्सकहरु बताउने गर्छन् । अस्पतालमा अवश्यकता भन्दा बढी समान खरिद, गुणस्तरहिन समानको आयातका साथै अस्पतालको जिन्सीमा समानको साटो बिल मात्र पु¥याएर भुक्तानी हुने गरेको डरलाग्दो बिबरण आएपछि सर्वसाधारणको विरामी निको पार्ने आशा र भरोसाको केन्द्र बनेको अस्पताल आफैं सिकिस्त बिरामी परेको हो ।
अस्पताल श्रोतका अनुसार स्वास्थ्य सामाग्री खरिद गरे वापतको भुक्तानी भएको स्वास्थ्य सामाग्री तथा उपकरण मध्ये २५ प्रतिशत समान मात्रै स्टोरमा पुग्ने गरेको दाखिला भने बिल बमोजिम हुने गरेको छ । खरिद भएका सामान मेडिकल सुप्रिटेनडेन्ट र उनका नजिकका चिकित्सकहरु आफ्नो क्लिनिक र अस्पतालमा लगेर प्रयोग गर्ने गरेको आरोप अस्पतालकै अन्य चिकित्सकले लगाउन थालेकाछन् ।
गएको साता अख्तियार दुरुपयोग अनुसंधान आयोग, टंगाल काठमाडौंको टोलीले अस्पतालमा छापामारी खरिद शिर्षकका कागजात नियन्त्रणमा लिएर गएपछि अस्पताल भित्रको अनियमितिको पोल खुलेको हो । छापामारीको क्रममा अख्तियारका अधिकारीले खासगरी अस्पतालले खरिद गरेको उपकरणको विषयमा बढी चासो देखाएको थियो । खरिद भएका उपकरणहरु जनताको स्वास्थ्य सेवामा प्रयोग गर्नुको साटो स्टोरमै किन थन्क्याइएको, अवश्यक्ता नभएका उपकरणहरु किन खरिद गरिएको, खरिद भएको अन्य उपकरणहरु कहाँ राखिएको छ ? जस्ता विषयहरुमा सोधखोज गरेको थाहा लागेको छ ।

डा. बिरेन्द्र प्रधान

यस अघिका मेसु डा. बिरेन्द्र प्रधानको नेतृत्वमा रहेका डा. दिपक चौरसिया, डा. उदयनारायण सिंह, नरसिङ प्रमुख श्रृती साह लगायतका चिकितस्कहरुको टोलीले स्टोर हेर्ने सुब्बा सुशिलप्रसाद यादवलाई प्रलोभन तथा प्रभावमा परेर अनावश्यक तथा गुणस्तरहिन केही समान खरिद गरी बाँकि सामानै खरिद नगरी बिल मात्रै बनाई स्टोर दाखिला गर्न लगाएको आरोप लाग्न थालेको छ । यसरी दाखिला गरिएको सामाग्री खर्च भइसकेको देखाइएको बताइन्छ । नागरिकको गुणस्तरीय स्वास्थ्य सेवाका लागी नेपाल सरकारबाट आएको रकम हिनामिना गरेको देखिएपछि स्वास्थ्यकर्मीबाटै त्यसको आलोचना हुन थालेको हो ।

डा. उदयनारायण सिंह

अस्पतालका एक जना पुराना चिकित्सक भन्छन्ः डा. दिपक चौरसिया, डा. उदयनारायण सिंह, नरसिङ प्रमुख श्रृती साह लगायत चिकितस्कहरुको एउटा संजालले नैं डा. बिरेन्द्र प्रधानलाई नेताहरुसँग लविङ गरी मेसु बनाउन लगाएका थिए । पछिलो सात वर्षदेखि ति चिकितस्कहरुको संजाललेनंै त्यहाँ आफु अनुकुलका मेसु नियूक्ती गराउँदै आएका छन् । अहिलेका मेसु डा. चितरंजन साहलाई सोही समुहले लविङ गरी मेसु बनाउन लगाएका थिए । डा. बिरेन्द्र प्रधान मंसिरमा सेवा निवृत भए पछि सर्बोत्तम अस्पतालका संचालक समेत रहेका साहलाई सो समुहले मेसु नियूक्त गराई अस्पताललाई आफ्नो चंगुलमा लिने कार्यलाई निरन्तरता दिएका छन् ।

डा. दीपक चौरसिया

अस्पातलमा भएको अनियमिता र लापरवाहीका घटनालाई नजिकबाट नियाली रहेकाहरु निजी अस्पतालका सञ्चालक कसरी सरकारी अस्पतालका प्रमुख बने ? अहिले चौतर्फी प्रश्न उठ्न थालेको छ ।
समाननंै खरिद नगरी भुक्तानी गर्ने कार्य आफुले नगर्ने अडान राखे पछि अस्पतालका लेखापाल रंजन कर्णको त्यहाँबाट सरुवा गराई जिल्ला वन कार्यालयमा पठाईएको थियो । लेखापाल कर्ण हालका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरी पुष्करका सहोदर भाई हुन् । कर्णको ठाउँमा सुदिप माझीलाई ल्याई भुक्तानी गराउन तत्कालिन मेसु प्रधान र स्टोर किपर शुसिलप्रसाद यादव सफल भएका थिए ।
यता आधा दशक देखि अस्पतालमा डेरा जमाएका स्टोर किपर सुब्बा शुसिलप्रसाद यादवको पनि सरुवा संघन सहरी तथा भवन निर्माण आयोजना, पर्सामा एक महिना अगाडी भए पनि मेसु साहले उनलाई रोकेर राखेका छन् । यादवको ठाउँमा आएका सुब्बा अलपत्रमा परेका छन् । स्टोरमा खरिद भएको उपकरण तथा सरसमान नरहेको र कागजपत्र पनि गडबड रहेको अवस्थामा अख्तियारले समेत खोजि नीति गर्न थालेपछि समग्रमा मामिला मिलाउन सुब्बा यादवलाई मेसुले रोकेको त्यहाँका कनिष्ठ कर्मचारीहरु बताउने गर्छन् ।

स्टोर किपर सुब्बा शुसिलप्रसाद यादव

त्यहाका लेखापाल सुदिप माझीका सरुवा दुई महिना अगाडी आन्तरिक राजस्व कार्यालय वीरगंजमा भए पनि उनी राजश्व कार्यालयमा हाजिरी गर्ने र दिन भरी नारायणी अस्पतालमा नक्कली बिल भरपाई सहितको फर्जी फाईल तयार गर्नमा व्यस्त रहेको आरोप लाग्न थालेको छ । लेखापाल माझीले कागजपत्र तथा श्रेष्ता नयाँ लेखापाललाई बुझबुझारत नगरेको सम्बन्धमा कोष लेखा नियन्त्रक कार्यालय पर्सामासमेत गुनासो पुगेको छ तर नारायणी अस्पतालको सम्बन्धमा सम्बन्धित निकाय तंै चुप मैं चुपको अबस्थामा छन् ।
नारायणी अस्पतालको भ्रष्टचारमा जिल्ला स्थित केही राजनितिक कर्मी संरक्षकको भूमिकामा देखिएका छन् । उनिहरु सरुवा भएका स्टोर किपर र लेखापाललाई पुनः नारायणीमा अस्पतालमा फिर्ता ल्याउने कार्यमा सकृय देखिएका छन् । भएको भ्रष्टचारमा एक अंश प्राप्त गरेका राजनितिक कर्मी पछिलो समय सरुवा बदरको नाममा त्यहाँका भ्रष्ट कर्मचारीसँग मोटै रकम बार्गेनिङ गरेका छन् । सो कार्यमा लाग्ने राजनितिक कर्मीलाई सवारी साधनका साथै अन्य खर्च सँगै साझको मदिरा पान सहितको भोजनको खर्च मेसुका नजिक रहेका डा. सिंह र डा. चौरसियाले व्यहोर्ने गरेका छन् ।
नारायणी अस्पतालमा भएको पछिल्लो अनियमितता प्रकरणबाट नागरिक पिडित भएका छन् । मध्यम वर्गका साथै विपन्न तथा अति विपन्न परिवारका विरामी गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको अभावमा निजी अस्पातल र निजी क्लिनिक धाउन बाध्य भएका छन् तर वीरगंजका राजनिक दल र नागरिक समाज अस्पतालको समस्या प्रती गम्भिर देखिएका छैनन् ।

सन्दीप माझी

यो समाचार सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।
अमित कुमार, बीरगञ्ज