असल मान्छे रोजौं

सम्पादकीय

सिद्धान्त दर्शन छाँट्नको लागि होइन देश र जनताको सेवा गर्न हो, सिद्धान्तलाई व्यवहारमा लागु गर्न हो । सिद्धान्त व्यवहारिक भएन, देश र जनताको सेवामा लागु भएन भने त्यो निरर्थक हुन्छ । व्यवहारबाट अलगिएको सिद्धान्त वस्तुगत हुँदैन, त्यसले सही ढंगले सत्यको व्याख्या गर्न सक्दैन । दलको सिद्धान्त र विचार देखाउने दाँत होइन । सिद्धान्त र विचार झूटको खेती गरेर जनताको मत तान्ने हतियार पनि होइन । दलीय सिद्धान्त, विचार र दृष्टिकोणलाई गौण ठानेर या पाखामा थन्काएर सत्ता प्राप्तिको निम्ति बहुसंखयक जनतालाई मासु र भात खुवाउँदै उनीहरुलाई भ¥याङ बनाउने कुनै पनि दलको विचार सही हुन सक्दैन । लुटको सत्तालाई निरन्तरता दिने गरिने गठबन्धन, तालमेल र गठजोडको राजनीति न सैद्धान्तिक हो न त वैचारिक नै ।
देशमा बहुमत जनता शोषित पीडित छन्, किसान र मजदुरहरू छन् । तर, देशका सत्ताशिन शासकहरूको राजनीति श्रमजीवी जनताकेन्द्रित छैन । उनीहरूको राजनीति पुँजीपतिकेन्द्रित छ । उनीहरुले अहिले चुनाबी कार्यक्रममा जतिसुकै गुलिया कुरा राखे तापनि सारमा पुँजीपति वर्गकै पक्षपोषण गरेका छन् । सरकार दलाल पुँजीपतिको कठपुतली बनेको छ । दलाल पुँजीपतिहरूको राजनीति गर्ने दलका नेताहरूले देश र जनताका लागि सही राजनीति गर्दैनन् । तिनीहरू जसरी भए पनि जित्नको लागि मत किनबेचमा सक्रिय हुन्छन्, भोजभतेर गर्छन् र जितेपछि जनताको विकासबाट त्यो रकम असुली गर्छन् । दुधौलीमा केही दिन अगाडि प्रत्येक वडामा काटिएको खसी र भोजभतेरले धनाढ्यहरु सत्तामा जानका लागि पैसाको खोलो बगाउँछन् भन्ने पुष्टि गर्दछ ।
सर्वसाधारण जनतालाई अनेक प्रलोभन र हैकममा पारेर मत किनबेच गर्ने, मत तान्न साम, दाम, दण्ड र भेदको नीति अँगाल्ने कार्यको सबैले विरोध गर्नुपर्छ । गलत राजनीतिको विरोध भएन या गलत राजनीतिले ठाउँ पायो भने सच्चा राजनीति कसरी अघि बढ्छ ? सिद्धान्त र विचारको राजनीति गर्दैन भने देश र जनताको भलो हुने छैन ।
निर्वाचनको निम्ति पैसाको खोलो बगाउने दलका उम्मेदवारहरूले जितेपछि त्यो पैसा असुल्न हुने नहुने सबै काम गर्न थाल्छन् । आफूलाई चन्दा दिने धनाढ्यहरूले सञ्चालन गरेका उद्योग तथा कारखानाबाट उत्पादित सामानको मूल्य बढाउन उनीहरू अघि सर्नेछन् । अनि उनीहरूले कसरी जनताको सेवा हुने काम गर्छन्, सेवा गर्ने चाहना राख्छन् ? राजनीतिमा नैतिकता हुन्छ, इमानदारिता हुन्छ, सदाचारिता हुन्छ । यसकारण, विगतदेखि हालसम्म देश र जनताप्रति समर्पित भएर, जनताको सेवामा संघर्ष गर्ने दल र दलका उम्मेदवारलाई जनताले विश्वास गर्नुपर्छ, जनताले छान्नुपर्छ । निर्वाचनमा बदमास र खराब आचरणका होइन राम्रा र असल मान्छे छान्नुपर्छ, जिताउनुपर्छ । अनि आफूले गरेको मतदानको सदुपयोग हुन्छ । प्रजातान्त्रिक पद्धति र मान्यतालाई भाँचकुँच गर्ने, बिथोल्ने दल र दलका उम्मेदवारलाई हामीले समर्थन गर्नु न्यायोचित हुँदैन । बिचौलिया, माफिया र तस्करहरूको जालोमा फसेका दलका उमेदवारहरूले सिन्धुली जिल्ला हाँक्न सक्दैनन् । यसकारण, सिन्धुली पछि परेको हो भन्ने तथ्यलाई हामी सबैले बुझ्नु पर्दछ ।-सन्देश जनप्रिय साप्ताहिकको सम्पादकीय