सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार मनोजजंग थापाले जनताको उत्साहन नै आफ्नो जितको आधार बनेको बताउनुभएको छ । मतदाताको बलियो समर्थन आफूलाई रहेको बताउँदै थापाले आर्थिक समृद्धि, संविधान कार्यान्वयन र विधिको शासनका लागि एमालेको जित आवश्यक रहेको बताउनुभयो ।
मौन अवधी शुरु भएपछि सन्देशजनप्रियसँग संक्षिप्त प्रतिक्रिया दिंदै थापाले मतदाताबाट मायाँ पाइरहनुभएको छ । “सबै मतदाताकहाँ पुगेको छु । उहाँहरूले मेरो उम्मेदवारीमा खुसी व्यक्त गर्नुभएको छ । लामो समयदेखि यही क्षेत्रसँग जोडिएको छु । उहाँहरूले सम्भावना भएको, विकास गर्न सक्ने नेताका रूपमा लिएको पाएको छु । यस क्षेत्रका मतदाताको समर्थनबाट उत्साही छु । अहिले पनि उहाँहरुले गर्नु भएको फोन उठाइरहेको छ ,” थापाले भन्नुभयो ।
मतदाताको समस्या सुन्ने साथै आफ्ना एजेण्डा बारे जानकारी गराउने क्रम जारी रहेको उहाँले बताउनुभयो । “लोकतान्त्रिक मूल्य–मान्यता स्वतन्त्रताको जग हो । कानुनी शासनमा मात्र लगानी आउँछ । नियन्त्रण र निषेध भएको ठाउँमा लगानी आउँदैन । लगानी ल्याउन सकियो भने अवसरको सिर्जना हुन्छ । त्यसकारण मेरो क्षेत्रमा व्यापक लगानी भित्र्याएर रोजगारी सिर्जना गर्नु मेरो मुख्य एजेन्डा हो ,” उहाँले भन्नुभयो ।
त्यस्तै, आफ्नो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने थापाले प्रतिवद्धता गर्नुभयो । कमलामाई नगरपालिका, सुनकोशी, मरिण र हरिहरपुरगढी गाउँपालिका भित्र पोखरीलगायतका धार्मिक, सांस्कृतिक महत्व स्थलहरू छन् । ती स्थलको संरक्षण र संवद्र्धन गर्नेछु । ती स्थललाई पर्यटकीय स्थलका रूपमा विकसित गर्ने गरी नयाँ योजनाहरू ल्याउने उहाँले प्रतिवद्धता गर्नुभयो ।
जनताले आफ्नो दुःख, मेहनतले धेरै पुँजी लगाएर घर बनाएका छन् । ती संरचना भत्काउने कुरा भएन । त्यसलाई नभत्काईकन अरू विकल्प अपनाएर सडक, ढल, पानीको उचित व्यवस्था गर्ने उहाँले बताउनुभयो । “यस क्षेत्रमा धेरै युवा क्लब र महिला समूहहरू छन् । थोरै लगानी गरेर महिला समूहलाई सहयोग गर्दा ठूलो उपलब्धि हासिल हुने देखिन्छ । त्यसमा ध्यान दिनेछु । युवाहरूका लागि खेलकुदमा लगानी बढाउनेछु । खेलकुदको विकास भयो भने युवाको क्षमता विकाससँगै शारीरिक र मानसिक स्वास्थ्य पनि रामो हुन्छ । युवाहरू सिर्जनशीलताको बाटोमा लाग्न सहयोग पुग्छ ,” उहाँले भन्नुभयो ।
थापाले जनताको मन जितेर मत लिने कोसिस गरिरहेको बताउनुभयो । “जनताको घरघर पुगिरहेको छु । सबै मतदातालाई भेट्न समयका हिसाबले अत्यन्तै चाप छ । समय अभावले सबै मतदातासँग भेट्न नसकिएला कि भन्ने मात्र चिन्ता छ । सबैलाई समेटेर जान्छु । यहाँका मतदाता लोकतन्त्रका पक्षमा, विकास, समृद्धि र राजनीतिक स्थिरताको पक्षमा हुनुहुन्छ । समृद्धि र त्यसका लागि विधिको सुनिश्चितता एमाले विचारबाट मात्र सम्भव छ । जनताको जुन उत्साह र समर्थन देखिएको छ यसबाट मलाई लाग्छ, मेरो जित निश्चित छ ,” उहाँले भन्नुभयो ।