मौन अवधिमा आचार संहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने प्रेस काउन्सिलको चेतावनी

प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । 

काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहिबार राती १२ बजेसम्म रहेकोले तत्पश्चात् प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई सचेत गराएको हो ।

‘स्थिर समय सुरु हुनुभन्दा अघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिन्ह अङ्कित झण्डा/ब्यानर, श्रव्यदृश्य लगायतका सामग्री समेटी सञ्चार माध्यमबाट प्रकाशन/प्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लङ्घन हुने हुँदा त्यस्तो कार्य नगर्न/नगराउन हुन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ’ काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मतदान हुने दिनको अघिल्लो अठ्चालीस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशन/प्रसारण/सम्प्रेषण गर्न पाइने छैन भन्ने निर्वाचन आचारसंहितामा व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।