कश्मीरमा भिडन्तमा सेनाका कर्णेलसहित पाँच सुरक्षाकर्मी मारिए, इन्टरनेट सेवा बन्द

भारतको उत्तरी कश्मीरको हन्दवाडामा आतंकवादी समूहसँग भएको भिडन्तमा भारतीय सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ्ग अफिसर आशुतोष शर्मासहित पाँच सुरक्षाकर्मीको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

शनिबारदेखि जारी भिडन्तमा दुईजना आतंककारीको समेत मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । आतंककारीहरु एक घरमा लुकेर बसेको थाहा पाएपछि त्यहाँ सेनाले कारबाही गरेको थियो ।

आतंककारीहरुले घरमा रहेका मानिसहरुलाई बन्धक बनाएर राखेका थिए । उनीहरुको उद्धारका लागि सेना र प्रहरीको टोली तैनाथ गरिएको थियो ।

निधन हुनेहमा कर्नेल आशुतोषसँगै मेजर अनुज, सब इन्स्पेक्टर शकील काजी, एक लान्स नायक र एक राइफलम्यान रहेका छन् ।

सुरक्षा बलले बन्धक रहेका मानिसहरुको उद्धार गरेको छ । कर्णेल आशुतोष शर्माले गत वर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए। उनी इलाहाबादका बासिन्दा हुन् । सो घटनापछि सो इलाकामा इन्टरनेट सेवा बन्द गरिएको छ ।