बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफू गम्भीर बिरामी परेर अस्पताल भर्ना भएका बेला ‘आकश्मिक योजना’ हरु बनाइएको खुलाएका छन् । कोरोना भाइरसको संक्रमणका कारण गम्भीर बिरामी परेका जोन्सनले तीन दिन आइसियूमा बिताएका थिए ।
द सनलाई आइतबार दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘मलाई जीवित राख्नका लागि लिटरका लिटर अक्सिजन दिइएको थियो ।’
लण्डनको सेन्ट थोमस अस्पतालनामा हुँदा आफूले आफैलाई ‘यहाँबाट म कसरी बाहिर निस्कन सक्छु होला ?’ भनेर सोध्ने गरेको जोन्सनले बताएका छन् ।
उनको अन्तर्वार्ता सार्वजनिक हुनु केही पूर्व प्रधानमन्त्री जोन्सनकी फियोन्सी क्यारी सिमोण्डसले हाल जन्मिएको आफूहरुको छोराको नाम विल्फ्रेड लवरी निकोलस जोन्सन राखिएको बताएकी थिइन् ।
दुई हजुरबुवा र प्रधानमन्त्री जोन्सनलाई उपचार गरेका दुई डाक्टरको सम्मानमा उनीहरुको सन्तानको नाम उनीहरुबाट राखिएको सिमोण्डसले खुलाइन् ।
गएको बुधबार सिमोण्ड्सले छोरा जन्मएकी हुन् । प्रधानमन्त्री जोन्सन आइसियूबाट बाहिर आएको हप्ता दिनपछि उनका छोरा जन्मिएका हुन् ।
द सनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीले मोनिटरका सूचकहरु गलत दिशा तर्फ जाँदाको अस्पतालको क्षण अति विरुप रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘त्यो क्षति अति कठिन थियो, झुट बोल्न चाहन्नँ–अवस्था अति खराब भयो भने के गर्ने भन्ने योजना डाक्टरहरुसँग थियो ।’
जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मार्च २६ मा उपचार गरिएको थियो । त्यसको १० दिनपछि उनी अस्पताल भर्ना भएका थिए । त्यसको अर्को दिन उनलाई आइसियूमा सारिएको थियो ।
आफू निको भएर फर्किनुमा अस्पतालले गरेको विशेष स्याहार नै कारक रहेको उनले बताएका छन्।











