एमालेलाई खुम्च्याउने र काँग्रेसलाई ठूलो बनाउने एकीकृत समाजबादीको लक्ष्य

नेकपा एमाले बाट अलग्गिएर एक बर्ष अघि अथवा भदौ ९ गते नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको थियो ।

अलग्गै दल बनाउँदा माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय र एकलौटी गरेको, वैचारिक मान्यतामा विचलित भएको आरोप लगाएका थिए । त्यसपछि नयाँ दल बनाएर उनी र उनको समुह सत्तासँग नजिकिँयो । तर अहिले एक बर्ष नपुग्दै एकीकृत समाजवादीलाई माओवादी केन्द्रसँग जोड्न थालिएको छ ।पार्टी संयन्त्र चुस्त हुन नपाउँदै एकीकृत समाजवादीले एकताको लागि दौडधुप गर्नुलाई अस्तित्व रक्षाको उपायका रुपमा बुझ्न सकिन्छ ।

माओवादीको प्रयास ठूलो कम्युनिष्ट शक्ति बन्ने हो । त्यसमा भर्खरै नयाँ पार्टी गठन गरेका बाबुराम भट्टराई र राष्ट्रिय एकता अभियान चलाईरहेको बामदेव गौतम समेत मिसिने निश्चित जस्तै भएको छ । अहिलेको सत्ता गठबन्धनलाई उपयोग गर्दै शक्ति बढाउने रणनीतिमा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् ।

त्यसले सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेससँग शक्ति बाँडफाँटमा मोलमोलाईमा सघाउने र अर्कोतिर एमालेको हैसियत कमजोर बनाउन सघाउन पुग्ने बुझाई दुबै दलको देखिन्छ । आफ्नो शक्ति निर्माण गर्नेभन्दा पनि एमालेलाई खुम्च्याएर काँग्रेसलाई ठूलो बनाउने एकीकृत समाजबादीको योजनाबाहेक अरु औचित्य देखिएन ।