चितवन/पत्रकार शिशिर सिंखडालाई आक्रमण गर्नेहरू ३ दिनदेखि फरार रहेका छन । प्रहरीले खोजी कार्य जारी रहेको बताए पनि उनिहरु पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रबक्ता नरहरी अधिकारीले पत्रकार सिंखडालाई आक्रमण गर्नेहरुको खोजी कार्य जारी रहेको बताएका छन । पत्रकार सिंखडामाथि गत बुधबार बिहान हातपात भएको हो । दैनिक कामको सिलसिलामा कालिका नगरपालिकामा पर्ने खोलेसिमल बजारबाट फर्कदै गरेको समयमा पत्रकार सिंखडालाई दिपक लामिछाने लगायत चार जनाको समुहले आक्रमण गरेको हो । लामिछाने कालिका नगरपालिकाका निवर्तमान मेयर खुमनारायण श्रेष्ठका स्वकीय सचीव (पिए) हुन । साथै उनी नेकपा (एमाले) कालिका नगर कमिटीका उपाध्यक्ष समेत रहेका छन । गत मंगलबार ‘कालिका नगरपालिकाका निवर्तमान मेयर श्रेष्ठ र पिए लामिछाने विरुद्ध २५ करोड भन्दा बढी भ्रष्टाचार गरेको भन्दै पुनः अख्तियारमा उजुरी’ शिर्षकमा विभिन्न दर्जन भन्दा बढी सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए ।
यसैबीच घटनामा संलग्न रहेका चार जना विरुद्ध पत्रकार सिंखडाले बुधबार नै जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी मुद्दा दायर गर्नुभएको छ । नेपाल पत्रकार महासंघ चितवन लगायत पत्रकार सम्बद्ध संघ संगठनको रोहवरमा पत्रकार सिंखडाले लामिछाने सहित उनका भाई दिलिप लामिछाने र भान्जाहरु समिर सापकोटा तथा निकेश नेपाल विरुद्ध किटानी मुद्दा दायर गरेका हुन । उनिहरुले पत्रकार सिंखडालाई मोटरसाइकलको हेल्मेटले हानेका थिए । साथै उनिहरुले पत्रकार सिंखडालाई मार्ने धम्की समेत दिएका थिए ।
चितवनका पत्रकार शिशिर सिंखडामाथि भएको आक्रमणको पत्रकार सम्बद्ध संघ संगठनहरुले उक्त घटनाको निन्दा र भत्सना गरेका छन। नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, रेडियो टेलिभिजन समन्वय बिभागका सदस्य, नेपाल पत्रकार महासंघ चितवनका सदस्य, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सह- इन्चार्ज, रेडियो नेपालका चितवन समाचारदाता तथा कालिका दैनिक अनलाइनका प्रधान सम्पादक सिंखडामाथि गत बुधबार बिहान आक्रमण भएको थियो । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्य, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल र प्रेस सेन्टर चितवनका कोषध्यक्ष किशोरचन्द्र सापकोटाले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको भत्सना गर्नु भएको छ । विज्ञप्तिमा समाचारमा चित्त नबुझेको अवस्थामा सम्बन्धित निकायमा निवेदन गर्न पाउने अधिकार र छानविनका लागि राज्यको निकाय हुँदाहुँदै त्यस्को व्यवस्थाको वेवास्ता गरी पत्रकारमाथि हातपात हुनु निन्दनीय भएको उल्लेख गरिएको छ । दोषीलाई तत्काल पक्राउ गरि कारवाहीको लागि जोडदार माग समेत गरिएको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सचिव गोविन्दप्रसाद चौलागाई तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा र भत्सना गरेका छन् । यसैगरी प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीका महासचिव हिरामान लामा, बागमती प्रदेश कमिटीका महासचिव प्रकाश दाहालले पनि विज्ञप्ति प्रकाशित गरी घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेका छन । सो आक्रमणको बिरोध गर्दै पुर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटा, राप्ती पत्रकार मञ्चका अध्यक्ष राजनदिल गुरुङ, पश्चिम चितवन पत्रकार मञ्चका सचीव हेमराज रिमाल लगायत दर्जन भन्दा बढी पत्रकार सम्बद्ध संघ संगठनले दोषीलाई तत्काल पक्राउ गरि कानुनी कारवाहीको सम्बन्धित निकाय संग जोडदार माग गरेका छन ।
यसैबीच प्रेस चौतरी सिन्धुली जिल्ला इन्चार्ज प्रेम दाहालले पत्रकार सिंखडामाथिको आक्रमणकारीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेकाछन् । उनले एक सन्देश मार्फत उक्त माग गरेका हुन् ।











