दुग्ध उत्पादक कृषकको आय वृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया

उन्नत पशुपालनबाट ग्रामीण क्षेत्रका कृषकको आय स्तर वृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले बुधबार त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कमलामाई नगरपालिका ३ चपौलीमा सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा स्थानीय जनप्रतिनिधि, कृषक र सहकारी बिच त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा कमलामाई नगरपालिका वडा नम्बर ३ का सचिव वीरेन्द्र कुमार देवकोटाले सहकारी संस्थालाई समस्या भएको बेला जुनसुकै कोणबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।  कार्यक्रममा जनप्रतिनिधि र कृषकहरू बिचमा सहकारीले गर्दै आएको काम र आगामी आर्थिक वर्ष २०७९/८० को सहकारीले गर्ने कार्यको सफलताको शुभकामना दिनुभयो ।

चालु आर्थिक बर्षमा सहकारीले कमलामाई नगरपालिका वडा नं ३ चपौली को साबिकका ९ वटा वडाहरूमा संस्थाको समूह बनाइ मासिक बचत गराउने पशुपालन तथा तरकारी खेतीको शीर्षकमा ऋण लगानी गरी सदस्यहरू लाई स्वरोजगार बनाउँदै उत्पादनमा जोड दिने सहकारीका अध्यक्ष बलराम अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहकारी तालिम, गोष्ठी तथा भ्रमणको व्यवस्था गर्ने , संस्थामा शेयर सदस्य वृद्धि गर्ने, उत्पादन र रोजगारी मूलक विविध काम कारोबार गर्ने, आधुनिक कृषि उपज सङ्कलन केन्द्र र दूध सङ्कलन केन्द्र स्थापना गर्ने कार्यक्रम रहेको छ ।

सहकारीका सदस्यहरूलाई मासिक रूपमा विभिन्न सिपमूलक तालिम संचालन गर्ने, निजी, सहकारी र सरकारी तवर वाट उन्नत जातका पशुहरुको फार्मिङ कार्यक्रम संचालन गर्ने, पशु विमा, दाना तथा भेटेरिनरी पसल संचालन गर्ने, सदस्यहरूलाई संस्था वा विभिन्न निकायको सहयोगमा घाँस बिउ उपलब्ध गराउन, गाई, भैँसी, बाखा–खसी, राँगा, बङ्गुर, कुखुरा, माछा लगायतका प्रवर्धन कार्यक्रम संचालन गर्ने सहकारीको लक्ष्य रहेको बताउनुभयो ।

सहकारीले  विभिन्न निकायको समन्वयमा संस्थाले सोलाभञ्याङमा तरकारी तथा दुग्धजन्य पदार्थ विक्री वितरणको लागी स्थानीय स्तरको कृषि उपज बजार स्थापना गर्ने , सिन्धुलीगढी संरक्षण संवर्धन साथै पर्यटकीय क्षेत्र विकासको लागी संस्थाले विविध गतिविधि संचालन गर्ने उहाँले जानकारी दिनुभयो ।

पशुपालन सँगै तरकारी खेती गरी वडालाई समृद्ध एवम् वडामा भएको बेरोजगारी समस्यालाई समाधान गरी स्वरोजगार सिर्जना गर्न विभिन्न कृषिजन्य काम गर्न विविध तवरले सहयोग तथा सहजीकरण गर्ने, विभिन्न निकाय सँग अनुदान तथा सहुलियत ऋण लिई सदस्यहरूलाई व्यावसायिक काम गर्न सहज बनाइने पनि उहाँले जानकारी दिनुभयो ।

कृषि बजार सिन्धुलीमा संस्थाले १ वटा सटर लिई सहकारीका सदस्यहरुले उत्पादन गरेका तरकारी तथा फलफूल विक्रीको लागी सहज बनाउने, संस्था स्वयंम वा विभिन्न निकायको सहयोगमा तरकारी तथा दूध ढुवानीको लागी १ थान गाडीको व्यवस्था गर्ने र पशुपालन, तरकारी खेती र पर्यटक प्रवर्द्धनमा विशेष जोड कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
सहकारीमा पुरुष ५४ जना र महिला १४ जना गरि जम्मा ६८ जना सदस्य रहेका छन् । उन्नत पशुपालन तथा दग्ध व्यवसायको माध्यमबाट ग्रामीण जनताको आय स्तर उकास्न मद्दत पुर्‍याउने उद्देश्यले सिन्धुलीगढी दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड संन्चालनमा ल्याइएको संस्थाका अध्यक्ष बलराम अधिकारीले बताउनुभयो ।
सहकारीका अध्यक्ष बलराम अधिकारको अध्यक्षतामा भएको कार्यक्रममा वडाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सहकारीका पदाधिकारी, स्थानीय सहकारी समूहका व्यक्तित्वहरू,कृषकहरू लगायतको उपस्थिति रहेको थियो ।

No description available.