समाचार कोरोनाको लडाईमा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा वादलले कोरोनाका विरुद्ध सुरक्षाकर्मीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । 

आज तीन वटै सुरक्षा प्रमुख, उपत्यकाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सल्लाहकार, सचिवसहित वरिस्ठ अधिकारीको सहभागिता रहेको गृहमन्त्रालयमा भएको वैठकमा गृहमन्त्री वादलले नेपालमा कोरोनालाई जित्दै गएको, उसले हार्दै गए पनि यसको सतर्कतामा कमी आउन दिनु नहुने भन्दै लकडाउनलाई कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशन दिए । 

विश्व रणनीतिसँग नेपालको योजना जोड्दै नेपाल अगाडि जानुपर्ने भन्दै गृहमन्त्री वादलले कोरोना भाइरससँगको विश्व लडाई लामै लड्ने आँकलन गरिएकाले हामीले यसमा हेलचेक्र्याँइ पटक्कै गर्नु नहुनेमा जोड दिए । 

खुल्ला सीमा भएकाले भारतबाट आउने मान्छे र यातायातका साधनलाई कडाइपूर्व चेकजाँच गर्नुपर्ने, सशस्त्र प्रहरी शक्तिलाई सीमा क्षेत्रमा केन्द्रित गर्नुपर्ने भन्दै नेपालमा उत्पादन, उद्योग, व्यवसाय, विकास निर्माणको काममा अब फर्काउने योजना बनाउन सरकार लागिरहेको पनि गृहमन्त्रीले जानकारी दिए । 

गृहमन्त्री वादलले प्राकृतिक विपद, बाढी पहिरोसँग लड्न पूर्व तयारी गर्नुपर्ने र यसबीचमा सामाजिक अपराधको विरुद्ध पनि चनाखो भइ सुरक्षाकर्मी लागिरहनुपर्ने भन्दै निर्देशन दिए ।