सरकार गिराउन र मुलुकमा अस्थिरता सिर्जना गर्न नेपाल भित्रिएका थिए भारतीय गुप्तचर

भारतीय गुप्तचर संस्था रअका अधिकारीहरु । फोटो, एजेन्सी

नेकपाका आदरणीय अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकार गिराउन र मुलुकमा अस्थिरता सिर्जना गर्न सहयोग पुग्नेगरी सोही पार्टीका अर्का आदरणीय अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका धेरैजना स्वकीय सचिवहरु र सहयोगीहरुमध्येका एक जनालाई गत चैत ४ गते भेटेका छन् । सोही दिनको उडानबाट नेपाल भित्रिएका उनी भारतीय गुप्तचर संस्था ̔र (Research and Analysis Wing-RAW) का पूर्व अधिकृत हुन, जो मोदी भारतीय प्रम बन्नुअघि नै ̔र को जागिर छाडी भारतीय जनता पार्टीका भातृ संगठनमा आबद्ध भएका थिए ।

पूर्व प्रम स्वर्गीय सूर्य बहादुर थापाका छोरा माननीय सुनिल थापा र नेपाली कांग्रेसका आदरणीय उपसभापति विमलेन्द्र निधीले सहजकर्ताको भूमिका निर्वाह गरी ती भारतीयलाई प्रचण्डसम्म पुर्याएका थिए । कट्टर हिन्दुवादी ती पूर्व ̔र̕ अधिकारी मूलत सत्ताधारी नेकपामा ल्याउन लागिएको आँधिबेहरीमा नेकपाकै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री आदरणीय माधव कुमार नेपालको भूमिका कस्तो हुन्छ भनी जान्न र सरकारका विरुद्ध वातावरण निर्माण गर्ने क्रममा ̔अन्य सहयोग̕ पुर्याउन नेपाल आएका हुन् ।

उनले पटकपटक कम्युनिष्ट पार्टीको सरकारका विरुद्ध अर्का आदरणीय अध्यक्षको योजना, मधेशवादी दल र नेपाली कांग्रेसको भरथेग र नेपालमा सधैं अस्थिरता चाहने एकथरी भारतीय संस्थापनको आर्थिक तथा अन्य सहयोगमा ल्याइने अविश्वासको प्रस्तावप्रति माधवको भूमिका कस्तो हुनेछ भनी जान्न चाहेका थिए । सो अवसरमा प्रभावकारी र बढी क्लिक हुने पत्रिका तथा अनलाइनहरुका सम्बन्धमा पनि चर्चा भएको र लगत्तै ती भारतीयले नेपालका चलेका दुई दैनिकका सम्पादकलाई पनि भेटेका थिए ।
नेपालका सरकार बनाउन र गिराउन भारतीयको भूमिका केही वर्षअघिसम्म प्रत्यक्ष र सहजै पुष्टि हुनेगरी देखिन्थे । तर केही समय यता प्रत्यक्ष र देखिने गरी हस्तक्षेप भएको महशुस भएको थिएन । अब फेरी दुई तिहाईको सरकार बनाउने कम्युनिष्ट पार्टीका एक अध्यक्षकै संलग्नतामा भारतीयको भूमिकालाई प्रभावकारी बनाउन खोजिएको यस घटनाले पुष्टि गरेको छ । उमेश दाहाल, काठमाडौ