प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले जमिन छाड्दा एमालेलाई न्यायाधीशले पछारेको अभिव्यक्ति दिएका छन्।
मंगलबार आफ्नो ७१औं जन्मदिनको अवसर पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुसँग ओलीले संसद विघटन र सर्वोच्चको आदेशप्रति लक्षित गर्दै एमालेलाई पछारेको बताएका हुन्।
ओलीले गत जेठ ८ गते दोस्रोपटक गरेको संसद विघटनलाई असार २८ गते सर्वोच्चले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलाले ओलीको कदम अवैधानिक ठहर गरेको थियो।
जसमध्ये राणा बाहेक इललासमा रहेका अरु चार न्यायाधीशप्रति ओलीले आक्रोश पोख्दै आएका छन्। जन्म दिन मनाउँदै ओलीले एमाले पार्टी योद्धा भएकाले कसैले हराउन नसक्ने जिकिर गरे।
‘यदि एउटा योद्धा यस्तो छ, जसलाई हराउनै सकिँदैन । एउटै सर्तमात्रै उसलाई हराउन सकिन्छ, उसलाई जमिनबाट छुटायो भने । अथवा जमिनबाट माथि उठायो भने । तर जमिन छुन पायो कि ऊ बलियो हुन्छ, ओलीले अगाडि भने, ‘अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतबाट चार जना न्यायाधिशले नै पछार्दो रहेछ एमालेजस्तो पार्टीलाई । अलिकति मौका मिल्यो भने । तर आखिर उचालेको उचाल्यैं कहाँ हुन्छ ? हामी जमिनमा छोई हाल्छौं, टेकी हाल्छौं । जनतासँग एकाकार भईहाल्छौं । नेकपा एमाले फेरि आउँछ।’
अध्यक्ष ओलीले आफ्नो बाँकी जिन्दगी सम्पूर्ण रुपमा देश र जनताको हितमा समर्पित गर्ने बताए। त्यस अवसरमा उनले ७० वर्षको आफ्नो जीवनमा देश, जनता र पार्टीका नेता, कार्यकर्ताले ठूलो साथ दिएको भन्दै आभार व्यक्त गर्नु गरे।
अध्यक्ष ओलीले भने, ‘मैले पटकपटक दोहोर्याउने गरेको छु–बाँकी जिन्दगी म फेरि पनि भन्छु–देशप्रति, जनताप्रति, यस देशका ज्येष्ठ नागरिकहरुप्रति, देशका अशक्त व्यक्तिहरुप्रति, यस देशका असहाय, बेसहारा नागरिकप्रति, यस देशका निमुखाहरुप्रति र यस देशमा न्याय नपाईरहेकाप्रति देश, जनता, मानवजाति, यस धर्तीप्रति समर्पित गर्नेछु । देश र जनताको हितका विरुद्ध, जनताको खुशहालीका विरुद्ध कुनै पनि काम गर्दिन । मेरो बाँकि जिन्दगी सम्पूर्ण जिन्दगी देशप्रति, जनताप्रति समर्पित गर्नेछु ।’
ओलीले विभिन्न कार्यक्रममा व्यक्त गरेको विचारहरुको संगालो ‘समवेत दृष्टि’ नामक पुस्तक पनि विमोचन गरिएको छ।











