सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेबीच भएको करिब दुई घण्टा लामो वार्तामा ठोस सहमति नभएपछि नेताहरु आ आफ्ना अडान राखेर प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएकाछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिफोनगरेर एमाले अध्यक्ष केपी शर्मा ओलीललाई छलफलका लागि वालुवाटार बोलाएका थिए । एमसीसी संसदबाट पारित गर्न एमालेको सहयोग मागेको वार्तामा सहभागी एमाले उपाध्यक्ष विष्णु पौडेलले सन्देश जनप्रियलाई जानकारी दिए ।
उहाँका अनुसार जवाफमा अध्यक्ष ओलीले एमालेलाई संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाएपछि मात्र एमसीसी लगायतका विषयमा छलफल हुने बताउनु भएको हो ।
बैठकपछि निस्किनुभएका पौडेलले भन्नुभयो– आज वालुवाटारमा भएको वार्तामा कुनै ठोस सहमति भएन । उहाँहरुले एमसीसी पारित गर्न एमालेको सहयोग माग्नुभयो । हामीले हाम्रा माग सम्बोधन गर्नुस् भन्यौं । त्यो भनेको एमालेलाई संसदीय प्रक्रिया भाग लिनका लागि हामीले उठाउँदै आएका मागको सम्बोधन हुनुपर्छ भन्ने हो । त्यसमा कुनै सहमति भएको छैन ।
एमालेले एमसीसीमा एमालेलाई प्रयोग गर्ने र हानिकारक गठबन्धन कायमै राखेर एमालेमाथि प्रहार गर्ने दोहोरो नीति नलिन प्रधानमन्त्रीलाई प्रष्ट रुपमा भनेको छ ।
उपाध्यक्ष पौडेलले सभामुखका कारण एमालेले संसदको कारवाहीमा भाग लिन नपाएको भन्दै पहिले एमालले राख्दै आएका विषयलाई सम्बोधन गर्न आग्रह गरेको जानकारी दिनुभयो ।
कांग्रेसले भने एमसीसी पारित गर्नु कांग्रेस र एमालेको कर्तव्य भएको भन्दै गठबन्धनभित्रका कतिपय दलका कारण समस्या भएको समेत बताएको छ । तर एमालेले माओवादीको नीति एमसीसीको विपक्षमा मतदान गर्ने तर गठबन्धन नछाड्ने देखिएकाले त्यसमा प्रष्ट हुन भनेको कांग्रेस नेताहरुले बताएका छन् ।
वार्तामा एमालेबाट अध्यक्ष ओलीसहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल र उपमहासचिव बिष्णु रिमाल सहभागी थिए । कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री देउवासहित उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की सहभागी थिए ।
एमालेको सहयोग मागिरहेको सत्तारुढ नेपाली कांग्रेसले दोहोरो भूमिकामा देखिएको भन्दै एमसीसी सम्झौताको पक्षमा नउभिए गठबन्धन टुटने चेतावनी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीको पक्षमा उभिनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भित्र एउटा, बाहिर अर्कै अभियानमा देखिएपछि कांग्रेसले एमसीसीको विपक्षमा उभिए थप सहकार्य नहुने प्रष्ट पारेपछि मंगलवार साँझ देउवाले एमाले नेताहरुसँग सम्वाद अगाडि बढाएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरूसँग आन्तरिक छलफलका दौरान गठबन्धनमा रहेका दलहरुले निर्णय गरेरै एमसीसीको पक्षमा मत नदिए सोही क्षणबाट सत्ता सहकार्य हुन टुटने प्रष्ट बटमलाइन सुनाउनु भएको छ । सत्तारुढ गठबन्धनका ५ दलमध्ये कांग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने अन्य जनमोर्चा बिपक्षमा उभिएको छ । माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) दोहोरो भूमिकामा रहेको छ । जसपाका नेता बाबुराम भराई पक्षमा र उपेन्द्र यादव बिपक्षमा रहेको देखिएको हो ।
माओवादी केन्द्रले एमसीसी संसदमा टेबल हुनै नदिने, टेबल गरिए सरकार छाड्ने निर्णय संसदीय दलको बैठकबाट गरे पनि सरकार छाडने गल्ती नगर्ने भन्दै बाहादुरीपुवर्क संसदमा टेवल गराउने सहमति र बिरोध दुवै काम गरेको छ । सडकमा एमसीसीबिरुद्ध कार्यकर्ता उचालेर बितण्डा मच्चाउने, सदनमा अध्यक्ष मुस्कान दिएर बस्ने, अरु सांसदलाई एमसीसीको बिरोधमा उतार्दै प्रचण्डले स्पष्ट रुपमा दोहोरो भूमिका खेल्नुभएको छ ।
प्रचण्डकै जसरी माधव नेपालले पनि दोहोरो भूमिका खेल्दै आउनु भएको छ । माधव नेतृत्वको समाजवादले सचिवालय बैठकबाटै एमसीसी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ तर भित्रभित्रै अर्कै खेल पनि भइरहेकोले माधव एमसीसीमा मतदान गर्ने बिन्दुमा पुग्ने बिश्लेषण भइरहेको छ ।
‘एमसीसीमा राष्ट्रघात छ भनेर एमसीसी पक्षधरलाई राष्ट्रघाती करार गरिसकेपछि राष्ट्रघातीहरूसँग कुम जोडेर सरकारमा बसिरहन लाज हुन्छ कि हुँदैन ?’, प्रचण्ड–माधव र जनमोर्चाका नेताहरुलाई प्रश्न गर्दै कांग्रेस महामन्त्री गगन थापाले सार्वजनिक रुपमै आलोचना गरिसकेका छन् ।
एकातिर सरकारमा बसिरहने र अर्कातिर सरकारकै बिरुद्ध सडकमा हिंसात्मक प्रदर्शन गराएर युवाहरुमाथि दमन गर्न लगाउने दोहोरो चरित्र प्रदर्शन गरिरहेका माओवादी केन्द्र र नेकपा एसका नेताहरु प्रचण्ड र नेपाल अहिले एम्बुसमा पर्न लागेकाछन् । एमसिसी पारित भएको मुख्य दोष एमालेको थाप्लोमा हालेर आफुहरु सक्कली राष्ट्रवादी कहलिने प्रचण्ड नेपालको कुत्सित योजना सडकमा असरल्ल पोखिएपछि उनीहरुले एमसिसी एम्बुसमा आफैं पर्न पुगेका मात्रै छैनन् नेपालीमा एउटा उखान छः खाउँ भने दिनभरीको शिकार नखाउँ भने कान्छा बाउको अनुहार भने जस्तै भएको छ उनीहरुका लागि ।










