अहिले हामी कोरोना संक्रमणको हटस्पट बन्दै गरेको सिन्धुली सदरमुकाममा छौं र अत्यन्त स्वास्थ्य सचेततताका साथ प्रत्यक्ष जनतासँग जोडिएर काम गरिरहेका छौं । सबैतिर कोरोना संक्रमणको त्रास बढिरहेको छ । केही दिन अगाडि म आफैं त्रसित थिएँ, जतिबेला सिसिएमसीको बैठकले देशभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरिसकेको थियो ।
पुसको अन्तिम साता सम्पन्न कमलामाई नगरपालिकाको हिउँदे नगरसभाका समयमा म आफैं पनि अस्वस्थ थिएँ । नगरसभा जस्तो विषय रोक्ने कुरा पनि भएन, त्यस बेला म पनि निकै डराएको थिएँ, कतै मेरै कारणले समस्या त सिर्जना हुँदैन ? दिनभरी काम गरो, बेलुका भएपछि घर परिवारसँग कुराकानी हुन्छ, त्यस क्रममा सञ्चो र बिसञ्चोका कुराहरु भइनैंहाल्छन् । त्यस क्रममा काठमाडौमा बढेको कोरोनाका केसहरु बारे मिडियामा आएका समाचार र टाढा रहेका परिवारका सदस्यहरुले मेरो स्वास्थ्यका विषयमा चिन्ता व्यक्तर्दै ती सबै कुरा बताइरहँदा आङनैं जिरिङ्ग हुन्छ । सबैभन्दा बढी जनसम्पर्क हुने कार्यालय भएकाले पनि परिवारजनले वारम्वार स्वास्थ्यको विषयलाई लिएर चिन्ता व्यक्त गरिरहने र बिदा लिएर आइहाल्नुस् भन्दा त्यसको मनोबैज्ञानिक त्रास त उल्लेख गर्नै नसकिने खालको हुनेरहेछ । एकातिर घर परिवार त अर्कातिर कार्यालयको पनि दोहोरो जिम्मेवारीले गर्दा मन मस्तिष्कमा बोझ र अलि बढि जिम्मेवारी बोध हुने रहेछ ।
हामी त स्थानीय स्तरमा जनताको सरकारका रुपमा काम गरिहेका छौं । हाम्रा कामहरुलाई सेवाग्राही (जनता)ले नियाली रहेका हुन्छन् । दैनिक रुपमा कोरोना संक्रमणका केसहरु बढिरहँदा कमलामाई नगरपालिकाको कार्यालय अन्र्तगत रहेका स्वास्थ्य, शिक्षा, प्राविधिक, कृषि, पशुलगायत सबै शाखाबाट दैनिक रुपमा जनताका कामहरु भइनैं रहेका छन् र यस्तो संकटपूर्ण अबस्थामा कोही पनि सेवा ग्राही काम भएन भनेर फर्कनु परेको छैन ।
संघीय सरकारले स्वास्थ्यका मापदण्ड तोक्दै सेवाग्राहीलाई खोप कार्ड देखाएर मात्रै कार्यालयमा प्रवेश गर्न भनिरहेको छ । सोही व्यवहोराको पत्र जिल्ला प्रशासन कार्यालयले पनि पठाइसकेको छ, तर हामीकँहा त्यस्तो व्यवस्था हुनै सकिरहेको छैन । किनकी सेवाग्राहीसँग तपाईको खोप कार्ड खोई भनेर सोध्दा उनीहरुले बोकेकै पाइँदैन । एक दिन मायाँ मारेर, रकम खर्चेर सेवा लिन आएका सेवाग्राहीलाई कार्ड नल्याएकै आधारमा फर्काउँदा त्यसले राम्रो सन्देश त दिएन नि ? त्यसैले हामीले यतिबेला आफ्नो स्वास्थ्यलाई दोस्रो र जनताको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं । अहिले पनि हाम्रा शाखाहरुबाट नियमित हुने सबै कामहरु भइनैंरहेका छन् । कोरोनाबाट हामिले अघिल्लो वर्षपनि यस्तै सास्ती खेप्यौं । त्यसबेला कार्यालयहरु बन्द गरिएका थिए, तर अहिले यति धेरै संक्रमितहरु भइसक्दा पनि पनि नियमित रुपमा कार्यालयबाट सेवाग्राहीलाई सेवा प्रदान गरिरहेका छौं । अघिल्लो वर्ष जस्तै नियति भोगिरहेका छौं, तर यसैलाई आधार मानेर काम नगर्ने हो भने त हामीले स्थानीय सरकार भएको अनुभूति जनतालाई कसरी दिन सक्छौं ? यो प्रश्नले मलाई सँधै झस्काईरहन्छ । हामी राष्ट्रसेवक कर्मचारीहरु पनि हौं, त्यसैले सरकारको निर्देशनलाई पालनागर्दै जस्तो सुकै कठिन परिस्थितिमा पनि जनताको पक्षमा काम गर्नु पर्दछ । हो यस्तो संकटपूर्ण अबस्थामा विगतमा जस्तो चुस्त दुरुस्त कामहरु नहुन सक्छन् । तर कमलामाई नगरपालिकामा अहिलेसम्म हामीले कुनै पनि नागरिकको कामलाई रोकेका छैनौं ।
हामीले अहिलेको संकटपूर्ण अबस्थामा तत्कालै गर्नु पर्ने र अलि पछि गर्दा हुने खालका कामहरुलाई छुट्याएर प्राथमिकताका आधारमा काम गरिरहेका छौं । यतिबेला स्वास्थ्य क्षेत्रका कामहरुलाई प्राथमिकतामा राखेर हामीले काम गरिरहेका छौं । हामीले पालिकाबाट सम्पादन हुने काममा बाधा व्यावधान नहोस् भन्ने उदेश्यले कुनै पनि शाखा बन्द गरेका छैनौं र जुन शाखामा जुन कर्मचारीलाई ज्वरो आउँछ वा कोभिड संक्रमण हुन्छ उहाँलाई मात्रै बिदामा बस्न भनिरहेका छौं । किनकी कोरोना संक्रमणसँग अभ्यस्त हुँदै अहिले राष्ट्रसेवक कर्मचारीहरुले काम गरिरहनु भएको छ ।
हामी कर्मचारीहरुका बीचमा कोभिड संकटसँग कसरी जुध्ने र स्वास्थ्य सामाग्रीको सुरक्षित प्रयोगवारे पटक पटक छलफल भएका छन् । स्वास्थ्यमा समस्या देखियो भने स्वास्थ्यकर्मीहरुसँग परार्म लिनुका साथै आवश्यक औषधीहरु प्रयोग गर्ने सन्दर्भमा कर्मचारीहरु बीच सम्वादहरु भएका छन् । उच्च ज्वरो आएर घरमंै आइसोलेसनमा बसेरै भएपनि कमलामाई नगरपालिकाका कर्मचारीले काम गरिरहनु भएको छ, म उहाँहरुको कामको सम्मान गर्दछु ।
यतिबेला मुख्य कुरा भनेको स्वास्थ्यनैं हो । स्वास्थ्यनैं रहेन भने अरु के नैं बाँकी रहन्छ र ! अघिल्लो वर्षको कोरोना संक्रमणका बेला पत्याउनैं नसकिने खालका घटनाहरु भएका थिए । अहिलेको संक्रमण दर पनि त्यही अबस्थाबाट अगाडि बढिरहेको छ । अघिल्लो दिन ठम ठम हिंडिरहेका मानिसहरु भोलिपल्ट नरहेको दृश्य हामीले देखिरहेका थियौं । म कमलामाई नगरवासीलाई भन्न चाहान्छु, नेपालको अहिलेको कोरोना संक्रमण दरलाई हेर्ने हो भने भोलीका दिनमा फेरी पनि विगतकै अबस्था नदोहोरिएला भन्न सकिन्न, त्यसैले जनस्वास्थ्यका मापदण्डहरुलाई अपनाऔं, अत्यावश्यक काम बाहेक घर भित्रै बसौं । अनिवार्य रुपमा मास्कको प्रयोग गरौं, सुरक्षित रहौं । कुराकानीमा आधारित । (साभारः कमलामाई लेखमाला )