नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

नेपालमा थप २४ जनामा काेराेना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्लोपटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको हो।

पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै मन्त्रालयले नयाँ भेरियन्टका कारण बढ्न सक्ने चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ।

नेपालको तथ्याङ्कलाई आधार मान्ने हो भने ओमिक्रोनका कारण अध्याधिक मात्रा कोभिड–१९का केशहरु बढ्न सक्ने सम्भावना रहेको भन्दै मन्त्रालयले थप सावधानी अपनाउँदै सबैलाई जनस्वास्थ्यका मापदण्डको पालना गर्न अनुरोध गरेको छ।