जिल्लाका ६ वटा स्थानीय तहमा ७२ जना एचआइभी सङ्क्रमितहरू रहेको सिन्धुली प्लसले जनाएको छ । ३४ औँ विश्व एड्स दिवसको अवसरमा संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो जनाइएको हो ।जिल्लाका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, गोलञ्जोर गाउँपालिका, फिक्कल र मरिण गाउँपालिकामा रहेका सङ्क्रमितहरू संस्थामा आई परामर्श र औषधी सेवन गर्ने गरेका छन् ।
यो संख्या यस जिल्लामा बढी भए पनि सङ्क्रमितहरू समाजमा खुल्न नचाहने गरेका कारण बाहिरी जिल्लाबाट औषधी सेवन गर्ने वा स्वास्थ्य जाँच गर्ने गरेका कारण कम देखिएको विगत ६ वर्ष देखि जिल्लामा एचआइभीको क्षेत्रमा काम गर्दै आएको यस संस्थाले जनाएको छ ।
हाल जिल्लामा खुलेका वा संस्थासँगको समन्वयमा एआरटी सेन्टरबाट औषधी सेवन गरी रहेकाहरूको संख्या ७२ जना रहेको सिन्धुली प्लसकी टिम लिडर मिना मगरले बताउनुभयो । ३ जना बच्चा सहित ३४ महिला र ३५ जना पुरुषहरू अहिले संस्थाको नियमित सम्पर्कमा रहेको उहाँले बताउनुभयो ।
सङ्क्रमितको संख्या ७२जना भए पनि हाल सिन्धुली अस्पतालमा रहेको एआरटी सेन्टरबाट ५५ जनाले नियमित औषधी सेवन गरी रहेको मगरले बत्ताइन । यस संस्थाले एक वर्षको अवधिमा एक सय ३१ जनाको रगत परीक्षण गरेकोमा ३ जनामा सङ्क्रमण पुष्टि भएको उहाँको भनाई रहेको छ ।








