दुर्गा भवानीको आराधना गर्दै महानवमी मनाइँदै

बिहीबार आश्विन शुक्ल नवमी । नवरात्रको अन्तिम दिन । देशभरका शक्तिपीठहरूमा दुर्गा भवानीको पूजा आराधना गर्दै मनाइँदै छ ।

घटस्थापनामा राखिएका जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने गर्छ । दशैंघर र कोतलगायत देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।

शाकाहारीहरूले महानवमीमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटासहितको नरिवल बलि दिने चलन छ ।

मार्कण्डेय पुराणअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज नामक राक्षसको बध गरेकी थिइन् । सोहीका कारण महानवमीलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने चलन पनि छ ।

महानवमीका अवसरमा कोतहरूमा कोत र निशान पूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेकहरूमा बाजागाजासहित जंगी निशान पूजा गर्ने चलन छ।