जेलमा पाँच जना कैदीको टाउको काटिएपछिको झडपमा एक सयभन्दा बढीको मृत्यु

इक्‍वेडरको जेलमा कैदीबन्दीबीच झडप हुँदा एक सय भन्दा बढीको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेलमा विश्वव्यापी लागू औषधि गिरोहसँग सम्बन्धित व्यक्ति रहेका थिए। दुई पक्षबीच झडप भएपछि एक सयभन्दा बढीको ज्यान गएको हो।

यो इक्‍वेडरको इतिहासमै सबैभन्दा घातक द्वन्दका रुपमा हेरिएको छ। झडपमा पाँच जना कैदीको टाउको काटिएको छ। त्यस्तै, थुप्रैलाई गोली हानिएको जनाइएको छ।

प्रहरीलाई झडप नियन्त्रणमा लिन कठिन भएको थियो। जेल भित्रबाट ग्रेनेड प्रहार समेत गरिएको थियो।

इक्वेडरमा लागू औषध तस्करी गर्ने म्याक्सिकोको शक्तिशाली गिरोह सक्रिय छ। यो गिरोहका व्यक्ति पनि जेलमा थिए।

यसअघि गत फेब्रुअरीमा पनि झडप भएको थियो। झडपमा ७९ जनाको ज्यान गएको थियो।