हातमा सुरजको बादशाह लिएर
दाउ कुरिराखेको थिएँ
सरकारले सुटुक्क फाल्यो दुवाको तुरूप
र यही भएथ्यो पटकपटक
भयो जसरि यसपटक
सर्लक्कै सोरिदियो आशा ,भरोसा र सपनाको संसार
थुईक्क ! म जनता
पत्तै नपाई फेरी अचेत चिप्लिएँ
………
….
…
.
अचेतावस्थामा
कोतरिएका ,चिथोरिएका आफ्नै आला घाउहरुबाट
तपतप खसेका रक्त थोपाको आवाजले जब बिउँत्यायो
मेरै आगाडी देखेँ सिंहदरबार
उफ ! कस्तो कुरूप भेषभुषा :
समाजवादको चप्पलमा सामन्तबादको फित्ता
गणतन्त्रको सुरुवालमा राजतन्त्रको इँजार
बहुदलीय भोटोमा निरंकुश तुना
टाउकोमा सुर्य फोर्दै गरेको हतौडा
तारा काट्दै गरेको हँसिया
टुप्पीमा झुण्ड्याईएको ब्यानर –
विश्व भरिका मजदुर एक हौ /
..
.
छ्या ! कति हिंस्रक मन :
पेटीमा ढसमस्स बसेर अडर गर्यो खाजानास्ता-
आमाको मुटु कलेजोको मः मः
बाको आन्द्राको चाउमिन
छोरीको गिदिको चट्नी
र
हजुर आमाको रगतको मोही
…..
…
प्रिय ! पाठक माफ गर्नुहोला
सिनो पल्टिएर डुङ्डुङति गनाएको
सरकारी दुर्गन्धले
शब्दहरु हतार हतार भागिरहेका छन्
सिङ्गो कविता लेख्न सकिरहेको छैन
……….
…
र पनि
…..
अन्तिम पटक सम्हालिएर
……….
…..
…
कसम !
मै नरहे मेरो देश कसरि रहला ??
……….
…..
…
सुरजको बादशाह !