सामूहिक रुपमा थारु समुदायले दसैँमा लगाए राज तिलक

 थारु समुदायले दसैँ सामूहिक रुपमा मनाउने गर्छ। दसैँको टीकाको दिन गाउँको सार्वजनिक स्थल मरुवाथान अर्थात थारु समुदायको मन्दिरमा भेला भएर दसैँको टीका थाप्ने चलन छ। अहिले पनि दाङलगायत पश्चिम नेपालका थारु समुदायले सामूहिक रुपमा दसैँको टीका लगाउने चलन कायमै छ।

हरेक घरबाट जमरा, टीका र सगुन बोकेर घरमुली गाउँको सार्वजनिक स्थल मरुवाथान अर्थात देउताको थानमा पुग्ने गर्छन्। गाउँको कुल देवता राखेका व्यक्तिले नै सबैलाई टीका लगाइदिने चलन छ। त्यसपछि थारु समुदायमा दसैँको टीका खुल्छ। यो परम्परा पुर्ख्याैली रुपमा चल्दै आएको हो। थारु समुदायमा सामूहिक रुपमा टीका ग्रहण गर्ने यो चलन सदियौंदेखि चल्दै आएको र अहिले पनि जारी रहेको लमही नगरपालिका– ६ निवासी ज्ञानप्रसाद चौधरीले बताए।

‘निकै पुरानो परम्परा हो। धेरै पुर्खाअघिबाट यसैगरी सामूहिक रुपमा टीका ग्रहण गर्ने चलन छ’, उनले भने, ‘यो हाम्रो मौलिक र पुरानो संस्कृति हो।’

थारु समुदायको प्रमुख पेशा कृषि र पशुपालन हो। प्रकृति पूजकको रुपमा रहेका थारु समुदायले दसैँमा गाउँको समृद्धि, कृषि र पशुपालनमा उन्नतिको कामनासमेत गर्ने चलन छ। सामूहिक रुपमा दसैँ मनाउँदा सामूहिक एकता, सद्भाव र आपसी सहिष्णुता वृद्धि हुने विश्वास छ। थारु समुदायको मरुवाथान तथा मन्दिरको संरक्षणको लागि सरकारले पनि ध्यान दिँदै आएको छ। परम्परागत कला–संस्कृतिको संरक्षण, सम्पदाको जगेर्ना गर्ने उद्देश्यले लगानी गरेको लुम्बिी प्रदेश पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयका अधिकृत शेषदत्त चौधरीले बताए।