विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता बोलाइरहेका बेला नेपालले भने उक्त द्वन्द्वग्रस्त मुलुकमा रहेका नेपाली नागरिकलाई तत्काल फिर्ता बोलाउने अवस्था नआइसकेको बताएको छ।
परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको अवस्था रोजगारदाता एजेन्सी र व्यक्तिगत सम्पर्कसूत्रको माध्यमबाट अध्ययन गरिरहेको बताएको छ। “अफगानिस्तानको अवस्था हामीले नजिकबाट नियालिरहेका छौँ। त्यहाँ रहेका नेपालीहरूलाई अप्ठेरो परेको अवस्थामा उपयुक्त निर्णय लिइने नै छ,” काठमाण्डूस्थित परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बीबीसीसँग भनिन्।

विदेशी सैनिकहरू अफगानिस्तानबाट फर्किन थालेपछि अहिले तालिबान लडाकुहरूले महत्त्वपूर्ण सहर र स्थानहरू आफ्नो नियन्त्रणमा लिन थालेका छन्। विभिन्न स्थानमा सङ्घर्ष जारी छ। अधिकांश नेपालीहरू राजधानी काबुलस्थित कूटनीतिक र सरकारी कार्यालयहरू भएको क्षेत्रमा कार्यरत रहेकाले अहिलेसम्म सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।
ग्रीन जोन भनिने उक्त क्षेत्रलाई सबैभन्दा सुरक्षित मानिन्छ। त्यहाँ १०० जनाको हाराहारीमा नेपालीहरू रहेको जानकारी आफूसँग रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर काबुलमा हुने नेपालीको सङ्ख्या त्यसभन्दा बढी भएको आकलन गरिएको छ। गत साता ग्रीन जोनमै अफगान रक्षामन्त्रीको घरमा आक्रमण भएपछि त्यहाँ कार्यरत नेपालीहरूमा केही त्रास बढेको हालै काबुलबाट काठमाण्डू फर्किएका एक नेपालीले बताएका छन्। विसं २०७३ सालमा राजधानी काबुलको ग्रीन जोनमा कार्यरत १३ नेपालीको बम हमलामा ज्यान गएपछि सरकारले केही समय अफगानिस्तान जान कडाइ गरेको थियो।

अफगानिस्तान कसरी पुग्छन् नेपाली ?
नयाँ दिल्लीस्थित नेपाली दूतावासले ग्रीन जोनमा काम गर्नका लागि माग भएका कामदारको माग विवरण प्रमाणित गरेर पठाएपछि काठमाण्डूस्थित वैदेशिक रोजगार विभागले श्रमस्वीकृति दिने गरेको छ।”सम्बन्धित देश हेर्ने दूतावासबाट माग भएको ठाउँमा कामदार पठाउन ठिक छ भन्ने प्रमाणित भएर आए हामीले श्रमस्वीकृति दिँदै आएका छौँ,” विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले भने।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख (डीसीएम) रामप्रसाद सुवेदीले संयुक्त राष्ट्रसङ्घअन्तर्गतका निकाय र सुरक्षा प्रदान गर्ने कम्पनीहरूमा नेपालीहरू दूतावासको स्वीकृति लिएर जाने गरेको बताए।गत आर्थिक वर्ष मात्रै १,०७३ जनाले त्यहाँ जान श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ।











