ओलम्पिक पुरुष फुटबल : ब्राजिलले जित्यो स्वर्ण

टोक्यो ओलम्पिकको पुरुष फुटबलको स्वर्ण ब्राजिलले जितेको छ। शनिबार टोक्योमा सम्पन्न फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २–१ले हराउँदै ब्राजिलले स्वर्ण जितेको हो।

ओलम्पिक पुरुष फुटबलमा ब्राजिलको यो लागतार दोस्रो स्वर्ण हो। यसअघि ब्राजिल सन् २०१६ मा घरमै पहिलो पटक ओलम्पिक स्वर्ण जितेको थियो।

टोक्योको योकोहामा अन्तर्राष्ट्रिय रंगशालामा ब्राजिललाई जित दिलाउन म्याथुुस कुन्हा र माल्कोमले गोल गरे भने स्पनेका मिकेल ओयासबेलले गोल गरेका थिए। 

पहिलो हाफको अन्तिम मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। ४५औं मिनेटमा उनले कप्तान ड्यानी अल्भेसको पासमा गोल गरेका थिए। त्यसअघि ब्राजिलले अग्रता लिने सुुनौलो अवसर गुमायो। ३७औं मिनेटमा प्राप्त पेनाल्टीमा उसका रिचार्लिसनले पेनाल्टीमा गोल गर्न सकेनन्। 

६०औं मिनेटमा ओयासाबेलले गोल गर्दै स्पेनलाई खेलमा फार्काए। त्यसपछि कुनै गोल नहुँदा खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयको १७औं मिनेटमा माल्कोमले गोल गर्दै ब्राजिललाई लागतार दोस्रो स्वर्ण दिलाए।