
कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गते लकडाउन गरेको आज ३० दिन पुरा भएको छ ।
लकडाउनबाट दैनिक जनजीवन निकै कष्टकर भएको छ । अत्यावश्यक काम र सेवा बाहेक सबै बन्दछ ।
राजधानी काठमाडौं लगायत स्थानीय तहमा अत्यावस्यक काम र सेवाका सवारीसाधनहरु मात्र चलिरहेका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकर लगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारीसाधनहरु फाट्टफुट्ट चलेका छन् ।

जनताका तर्फबाट लकडाउनको पालना पूर्णरुपमा भएको छ । यस्तै अत्यावश्यक सामाग्री खरिदका लागि सर्वसाधारणहरु घर नजिकको पसलसम्म पुग्ने गरेका छन् । यस्तै अत्यावश्यक खाद्य सामग्री बिक्री गर्ने पसलहरु तोकिएको समयमा मात्रै खुलेको देखिएको छ ।
आफ्नो ज्यानको पर्वाहनगरी सुरक्षाकर्मीहरुले लकडाउनलाई पालना गराउन सडकमा प्रहरीले चेकजाँचलाई कडाई गरेका छन् ।सरकारले वैशाख १५ गते सम्म लकडाउनको समय तोकेको छ ।

नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या ४५ पुगेको छ । यस्तै ४ जनालाई निको भइसकेको छ । अहिले सम्म ८ हजार ७ सय ७३ जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । ८ हजार ७ सय ३१ जनामा कुनैपनि संक्रमण देखिएको छैन् । यस्तै पछिल्लो समय १ सय ७ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पुष्टि गरेकाछन् ।

यसैबीचमा आम नागरिकमा केही द्धिविधा पनि उत्पन्न गराएको छ । सरकारले अलपत्र परेका भोकै बस्नुपर्ने अबस्थामा रहेका नागरिकलाई खानपानको व्यवस्था र गर्न नागरिकलाई हिंडडुल गर्न रोेक लगाएका बेला सरकारकै मन्त्रीहरु मानिसहलाई राजधानी काठमाडौबाट बाहिरी जिल्लामा पठाउन सक्रिय देखिए । काठमाडौबाट आजै यात्रु लिएर गएको बस रामेछापमा दुर्घटना भयो । दुई दर्जन घाइते भए । कालोवजारी ह्वात्तै बढेको छ, तर स्थानीय प्रशासन कालोबजारी नियन्त्रण गर्ने तर्फ अग्रसर देखिएन ।
पहुँच वालाले आफ्ना कार्यकर्ताहरुलाई गाडीमा ओसार्ने र गरिव तथा असहाय जो राजनैतिक दलमा छैनन् उनीहरु हप्तौं दिनसम्म भोकभोकै पसिना तरर चुहाउँदै हिंडेर गन्तव्यमा पुगिरहेका दृश्य निकै पिडादायि छन् । त्यसैले लकडाउनबाट प्रताडित नागरिकहरुलाई सरकारका तर्फबाट जीवन रक्षाका न्यूनतम् व्यवहार प्रदर्शन गर्न जरुरी छ ।