दशकौँको द्वन्द्व र त्यसपछिका अवस्थालाई हेर्दा श्रीलङ्कामा हजारौँ मानिसहरू द्वन्द्वका कारण ‘बेपत्ता’ भएका एम्नेस्टी इन्टरनेसनलले बिहीबार सार्वजनिक तथ्याङ्कमा जनाइएको छ।
श्रीलङ्काको महान्यायाधिवक्ताको कार्यालयले बुधबार ११ तमिल युवाहरूको सन् २००८ र २००९ मा भएको अपहरणमा पूर्व नौसैनिक कमान्डर वसन्ता करणागोडाविरुद्ध उनको कथित भूमिकामाथि आरोप नलगाउने निर्णय गरेपछि अन्तर्राष्ट्रिय विश्वव्यापी मानव अधिकार निकायले यो बताएको हो।
‘नाभी ११’ नाम दिइएको उक्त घटनामा सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रण रहेको समय बेपत्ता पारिएको थियो। यसको पछाडि श्रीलङ्काको नौसेना रहेको आरोप लागेको छ।
‘नाभी ११’ ले सन् २००८–२००९ मा ११ तमिल युवाहरूलाई जबरजस्ती बेपत्ता पारिएको कुरालाई जनाउँछ। तमिल यूवाको अपहरणमा श्रीलङ्काको नौसेनाका अधिकारीहरूको प्रत्यक्ष सम्लग्नता रहेको पीडितका आफन्तजनले जनाएका छन्।
एम्नेस्टी इन्टरनेशनलको एशिया–प्रशान्त निर्देशक यामिनी मिश्राका अनुसार श्रीलङ्कामा दशकौँको द्वन्द्वको दौडानमा हजारौँ मानिसहरू बेपत्ता पारिएका छन्। यो विश्वकै दोस्रो सबैभन्दा बढी बेपत्ता पारिएको घटना मान्न सकिन्छ।
मानव अधिकार समूहका अनुसार सन् २०१८ को अगस्टमा प्रहरीको फौजदारी अनुसन्धान विभागले मुख्य आरोपीको रुपमा नाभी सम्पथ भनिने लेफ्टिनेन्ट कमाण्डर चन्दनप्रसाद हेट्टियाराची पक्राउ गरेको थियो।
सीआईडीले तत्कालीन ‘चिफ डिफेन्स एडमिरल’ रविन्द्र विजेगुनेरत्नेलाई एक मुख्य शंकास्पद व्यक्तिको सुरक्षा गरेको आरोप लगाएको थियो । अदालतले पनि उनको गिरफ्तारीको आदेश दिएको एम्नेस्टी इन्टरनेशनलले बताएको छ।











