नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् ।
महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले पार्टी चुस्त हुने मार्गमा अवरोध पैदा गरेको भन्दै सांसद सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।
पार्टी सभापति एवम् प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा सिंहले भनेका छन् ‘मधेसमा कांग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनर्स्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु ।’ सिंह नेपाली कांग्रेसलाई भारतसँगको सम्बन्ध जोड्ने एकमात्र नेता मानिन्छन् ।