सत्तारुढ नेकपा एमालेमा विवाद समाधानका लागि गठन भएको कार्यदलले आज सहमतिको खाका सावर्जनिक गर्दैछ । शुक्रवार सिंहदरबारमा सात घण्टा छलफलपछि कार्यदलले विवाद सामाधानको विधि तय गर्दै सहमतिको अन्तिम खाका तयार पारेको हो ।
सहमतिअनुसार आज खाका सार्वजनिक गर्ने उपाध्यक्ष तथा माधव नेपाल पक्षबाट कार्यदल संयोजक भीम रावलले बताउनु भयो । उपाध्यक्ष आजको बैठकपछि खाका सार्वजनिक गरिनेछ । ‘कतिबेला बैठक बस्ने भनेर सल्लाह गर्दैछौं, हामी सकारात्मक दिशामा छौं । सबै कुरा टुंगो लागेपछि सार्वजनिक गर्छौं,’ रावलले भन्नुभयो ।
नेताहरुका अनुसार शुक्रवार भएको सहमतिमा आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाललाई सहमत गराएर सार्वजनिक गर्ने कार्यक्रम छ । सहमतिको खाकालाई आज अन्तिम रुप दिने र पार्टीको विवाद सुल्झिएको सन्देश दिने नेताहरुले जनाएका छन् ।
कार्यदलको प्रारम्भिक सहमतिअनुसार पार्टीका सबै कमिटी र जनसंगठनहरु २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने उल्लेख छ । यस्तै माओवादीबाट एमालेमा आउनु भएका रामबहादुर थापा बादलहितका नेताहरुलाई पनि सम्मानजनक अवस्थामा पार्टीमा काम गर्ने बातावरण निर्माणको बिषयमा पनि सहमति भएको छ । नेता नेपाललाई उठाउदै आएको पावर सेयरिङको बिषयमा भने कार्यदलले समावेश गरेको छ । संस्थापन पक्षले बिधान भन्दा बाहिर गएर कुनै काम गर्न नहुने भन्दै पावर सेयरिङको बिषयलाई अस्विकार गर्दै आएको छ ।
पार्टीको महाधिवेशनबाट अध्यक्ष र संसदबाट प्रधानमन्त्री चुनिएको व्यक्तिलाई बिचैमा हटाउँदा त्यसको सन्देश राम्रो नजाने भएकोले यस विषयलाई छलफलमा नल्याउन संस्थापन पक्षले आग्रह गरेको छ । नेपाल पक्षका नेताहरुले पनि बिधि र पद्धती भन्दा बाहिर गएर पार्टी सञ्चालन गर्न नहुने भएकोले यस बिषयलाई स्वीकार गरेको छ ।











