एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समुहका नेताले गरेको सहमतिलाई तोडिदिनु भएको छ । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीचको भेटबार्तापछि कार्यदलले तयार पारेको सहमतिको पाँच बुँदे मस्यौदालाई बरिष्ठ नेता नेपालले आफ्नो पदको टुंगो नभई मिल्न नसक्ने भनेर भाँडनु भएको हो ।
कार्यदलले एमालेको सम्पुर्ण संरचनालाई २०७५ जेठ २ मा फर्काउने गरी सहमतिको पाँच बुँदा तयार पारेको थियो । सो सहमतिलाई अध्यक्ष ओलीले सहमति जनाउनु भएपनि नेपालले भने सहमतिका कुरा ठीक भएपनि पहिलो मेरो टुंगो हुनुपर्यो भन्दै भाँडनुभएका कार्यदलका एक नेताले बताए । ती नेताका अनुसार वरिष्ठ नेता नेपालले एमालेमा फर्किएर काम गर्नका लागि महाधिवेशनअगावै आफू पनि अध्यक्ष हुनुपर्ने पहिलो सर्त राख्नुभएको छ । आफूले अध्यक्ष ओलीसँग यस बिषयमा प्रष्ट कुरा गरेको बताउँदै नेता नेपालले आफ्नो तर्फका कार्यदल सदस्यहरुसँग अध्यक्षमा हाताहाती सहमतिपछि मात्रै एमालेमा फर्कने अडान राख्नुभएको हो ।
मेरियट होटलमा बुधवार साँझ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भएको छलफलमा बरिष्ठ नेता नेपालले बिधानमै नभएको पद चाहिन्ने सर्त राख्नुभएको थियो । जवाफमा ओलीले कार्यदलले जे ल्याउँछ मान्छु भन्नुभएको थियो । तर नेता नेपालले एमाले र माओवादीबीच एकता भएको जसरी नै दुई अध्यक्ष र निर्वाचन आयोगलगायत सवैतिर दुई अध्यक्षको हस्ताक्षर हुनुपर्ने भन्दै सर्त राख्नुभएको हो । नेता नेपालले सरकारले गर्ने सबै नियुक्तिमा आफ्नो पनि बराबर भागवण्डा हुनुपर्ने, महाधिवेशन अघि नै दोस्रो अध्यक्ष र महाधिवेशनपछि एकल अध्यक्ष बनाउनुपर्ने र संगठन परिचालनमा बरावरी हिस्सतासहितको अधिकार दिनुपर्ने शर्त राख्नुभएको कार्यदलका ती सदस्यले बताए ।











