अमेरिकाबाट १५ लाख डोज खोप भोली आइपुग्ने

अमेरिकाले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सो परिमाणको खोप शनिबार नेपाल आइपुग्नेछ । यसअघि अमेरिकाले नेपालसहित विभिन्न एसियाली मुलुकलाई करिब ७० लाख डोज कोरोना खोप दिने जनाएको थियो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार खोप सोमबार विहान १० बजेसम्म काठमाडौंमा आइपुग्ने तालिका रहेको छ । अमेरिकाले यसअघि नै नेपाललाई चाँडै नै खोप उपलव्ध गराउन लागि परेको बताएको थियो । यसअघि नेपालस्थित अमेरिकी दुतावासले खोप ल्याउनका लागि आवश्यक प्रक्रियामा लागि रहेको जानकारी दिएको थियो । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप एक मात्रा लगाए हुन्छ ।

मन्त्रालयले दुई दिन अघि नै जोन्सन एण्ड जोन्सनको खोपलाई प्रयोगको अनुमति दिनका लागि औषधि व्यवस्था विभागलाई चिठी पठाएको थियो । विभाग स्रोतले पनि आफ्नो तर्फबाट काम टुंग्याईसकेको जानकारी दिएको छ । यता खोप आउने निश्चित भएपछि स्वास्थ्य सेवा विभागका अधिकारीहरु भने अब खोप कहिले देखि सुरु गर्ने भन्ने योजना बनाउन व्यस्त भएका छन् । आजै चीनबाट ८ लाख डोज भेरोसेल खोप काठमाडौँ आइपुगेको छ ।