नेपालले चीनबाट दुई हप्ताको अवधिमा “ठूलो परिमाणमा” खोप ल्याउँदै गर्दा त्यसको भण्डारण र वितरण प्रणालीबारे कतिपयले चिन्ता व्यक्त गरेका छन्।
नेपालले चीनसँग खरिद गरेको “४० लाख मात्रा खोप”मध्ये पहिलो खेप शुक्रवार आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।
त्यसका लागि नेपाल वायुसेवा निगमको विमान बिहीवार नेपालबाट उडेको थियो।
कोभिड खोप निश्चित तापक्रममा भण्डारण गर्नुपर्ने र गाउँ गाउँसम्म “कोल्ड चेन”को व्यवस्था गरेर उपलब्ध गराइनुपर्ने हुँदा चुनौती रहेको जानकारहरू बताउँछन्। तर राष्ट्रिय खोप कार्यक्रमका संयोजक डा. झलक शर्मा गौतमले भने आफूहरू त्यसका लागि तयार रहेको बताएका छन्।
नेपाल आइपुगेको खोप सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको चिस्यान भण्डारणमा राखिने बताइएको छ।
प्रत्येक कम्पनीले उत्पादन गरेको खोपले कति ठाउँ ओगट्छ भन्ने कुरा फरक हुने हुँदा भण्डारण क्षमतामा पनि घटबढ हुने गौतम बताउँछन्।
नेपालमा प्रयोग गरिएको कोभिशील्ड खोपको एक भाएलमा १० मात्रा हुने हुँदा त्यो खोप तुलनात्मक रूपमा ठूलो परिमाणमा राख्न सकिने उनी बताउँछन्।
हाल नेपालमा प्रयोग भएको चिनियाँ भेरोसेल खोपको ‘प्रिफिल्ड सिरिन्ज’ले भने निकै धेरै स्थान ओगट्ने गौतमको भनाइ छ।
“कोभिशील्डले लिनेभन्दा १३० गुणा बढी ठाउँ लिने रहेछ प्रिफिल्ड सिरिन्जले,” उनले भने।
अहिलेको अवस्था हेर्दा देशैभरि गरेर लगभग ४० लाख मात्रा भेरोसेल खोप भण्डारण क्षमता रहेको उनको भनाइ छ।
केन्द्रीय स्तरका भण्डारण केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, टेकु अनि पथलैयामा रहेको छ।
त्यस्तै हेटौँडा, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू रहेको र त्यसलाई विस्तार गर्ने कार्य पनि भइरहेको अधिकारीहरूको भनाइ छ।
धनुषा जिल्लामा पनि भण्डारण केन्द्र निर्माण गर्न लागिएको बताइएको छ।
विमानस्थलमा रहेको भण्डारण केन्द्रको क्षेत्रफल २४ हजार घनमिटर रहेको अधिकारीहरूले बताएका छन् जसमा चीनबाट ल्याउन लागिएको भेरोसेल खोपका आठ लाखभन्दा बढी भाएल राख्न सकिने बताइएको छ।
एकै पटक निकै ठूलो परिमाणमा खोप प्राप्त हुने स्थिति बनेको अवस्थामा निजी क्षेत्र वा अन्य सरकारी कार्यालयका भण्डारण केन्द्रमा खोप राख्न सकिने र त्यसका लागि आफूहरू सम्बन्धित पक्षसँग सम्पर्कमा रहेको गौतम बताउँछन्।











