नेकपा एमालेको विवाद समाधानका लागि भएको सहमति भाँडिएको संकेत मिलेको छ । आज साँझका लागि तय गरिएको कार्यदल बैठक बस्दै नबसी स्थगित हुनु र बाहिरने क्रममा नेताहरुले निरासाजनक टिप्पणी गरेपछि एकताको सहमति भाँडिएको संकेत मिलेको हो ।
बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षसहित बरावर अधिकार मागेपछि आज दिउसो तय भएको कार्यदल बैठक २० मिनेट बसेर साँझसम्मका लागि स्थगित भएको थियो । दिनभर अनौपचारिक र औपचारिक बार्ता भएपनि माधवको मागमा सहमति नजुटेपछि बैठक बस्दै नबसी भोलिसम्मका लागि स्थगित भएको हो ।
कार्यदलमा रहेका अधिकांश सदस्य सिंहदरवारस्थित अर्थ मन्त्रालय पुगेपनि अर्थमन्त्रीसमेत रहनुभएका एमाले उपमहासचिव बिष्णु पौडेल मन्त्रिपरिषद बैठकका कारण आउन ढिला भएपछि आजको बैठक स्थगित गरी शुक्रवार बिहान ११ बजेका लागि तय गरिएको छ । तर बाहिरिने क्रममा नेता सुवास नेम्वाङ र घनश्याम भुसालको प्रतिक्रियाले एकताको सहमति भाँडिएको प्रष्टै संकेत गरेको छ ।
एमाले उपमहासचिव भुसालले १०/१२ दिनदेखिको छलफलमा कुनै प्रगति नभएको बताउनु भएको छ भने नेम्वाङले पनि निकै भावुक बन्दै भुसालले भनेको कुरा नै सही रहेको बताउनु भएको छ । दुवै नेताको प्रतिक्रियाले एमालेको एकता प्रयाश बिफल हुने बाटोतिर लागेको र माधवको सर्त नै बाधक बनेको देखिएको छ ।










