नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग कार्यदलमा रहेका आफ्नै समुहका नेता जंगिएका छन । आज बसेको नेपाल समुहको स्थायी कमिटी सदस्यहरुको बैठकमा नेता नेपालसहित भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको बिश्वास गरेर बिपक्षी गठबन्धनका नेता शेरबहादुर देउवा र पुष्पकमल दाहाल, प्रचण्डलाई धोका दिन नहुने प्रस्ताव राखेपछि कार्यदलमा रहेका नेताहरु जंगिनु भएको हो ।
बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार बिपक्षी गठबन्धनलाई धोका दिएर पार्टी एकताको आधार तयार पार्दै शुक्रवार बोलाइएको तात्कालिन एमालेको पदाधिकारीसहितको बैठकमा जान नहुने प्रस्ताव एमाले उपाध्यक्ष भीम रावलले राख्नुभएको थियो । सो प्रस्तावमा नेपालले हो त नि भनेपछि सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, भीम आचार्य, योगेश भट्टराईसहितका नेताहरु जंगिनु भएको हो । ‘एमाले सकाएर देउवा र प्रचण्डको सेवा गर्ने ? यो किमार्थ हुन सक्दैन, तपाईहरु आफ्नो कुरा त्यही रोक्नोस,’ एमाले बिवाद समाधानमा लागेका कार्यदलका सदस्यहरुको सामुहिक धारणा उधृत गर्दै ती नेताले भने ।
उनका अनुसार नेताहरुले पहिलो कुरा नै एमालेको सुदृढ एकता र बलियो पार्टी निर्माण रहेको भन्दै एमालेको बैठकमा देउवा र प्रचण्डको कुरा अव आइन्दा नगर्न चेतावनीसमेत दिएका छन । ‘यो एमालेको बैठक हो, हाम्रो लडाईंको सार एमालेलाई बलियो बनाउने हो, यसबिपरित आइन्दा बिपक्षी गठबन्धनलाई बलियो बनाउने कुरा नगर्नाेस,’ माधव र रावललाई नेताहरुको सुझाव थियो । आजको बैठकमा कार्यदलमा रहेका नेताहरुले मिलन बिन्दु फेला परिसकेको भन्दै पार्टी बिभाजनको कुनै आधार नभएको तथ्य सुनाउनु भएको थियो ।
‘अव पनि बुढानिलकण्ठतिरै धाउनु पर्ने कुनै कारण छैन, पार्टीभित्रको बिवाद समाधानतिर गइसकेको छ,’ बैठकमा कार्यदलका नेताहरुको भनाई थियो । एमालेले माधव समुहकै मागअनुसार माओवादीसँग एकताअघि कायम रहेको २०७५ जठ २ गतेको संरचना ब्यूँताउने निर्णय गरी महाधिवेशन आयोजक कमिटी बिघटन गरिसकेको छ । अध्यक्ष ओली हदैसम्म लचक भई यो निर्णय लिएसँगै माधव आफै दवावमा पर्नुभएको हो ।