नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमालेको पदाधिकारी ब्यूताउने माग केवल छलछामको लागि मात्रै रहेको प्रमाण दिनुभएको छ । आफ्नै समुहका अधिकांश नेता शुक्रवार बोलाइएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी भई पार्टीभित्रै संघर्ष गर्ने पक्षमा उभिदा समेत नेता नेपाल प्रचण्ड र शेरबहादुर देउवालाई धोका नदिने प्रतिवद्धता जनाइसकेको भन्दै शुक्रवार बोलाइएको एमाले पदाधिकारीसहितको बैठकमा सहभागी नहुने निर्णय सुनाउनु भएको हो । माधवलाई सो निर्णय गराउन उपाध्यक्ष भीम रावलले निर्णायक भूमिका निर्वाह गर्नुभएको छ । नेपाल र रावलले यसअघि नै आगामी चुनावमा कांग्रेसको चुनाव चिन्हमा निर्वाचन लडने सहमति जनाइसकेको तथ्य बाहिर आइसकेको छ । सोही योजनाअनुसार नेपालले आफ्ना समुहका सवै नेतालाई धम्याउँदै देउवा र प्रचण्डलाई खुसी पार्न बैठकमा नजाने निर्णय सुनाउनु भएको छ ।
एमालेले एकताअघिको संरचना ब्यूँताउँदै शुक्रवार केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकमा सहभागी नहुने माधव समुहले निर्णय गरेको छ । एमाले केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा सहभागी हुन पार्टीले माधव समूहका नेताहरुलाई २०७५ जेठ २ कै हैसियतमा बोलाएको छ । सो बिषयमा छलफल गर्न आज बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको माधव समुहको स्थायी कमिटी सदस्यहरुको बैठकले यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
माधव समुहले बैठकमा सहभागी हुन अर्काे सर्त थपेको छ । नेकपा बिभाजन भई एमाले र माओवादी बनेपछि एमाले रोज्नुभएका रामबहादुर थापा बादलसहितका नेतालाई माओवादीमै नफर्काउँदासम्म एमाले बैठकमा नआउने माधव समुहको निश्कर्ष रहेको छ । जेठ २ भने पनि पूर्वमाओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय गरेर नेपाल समुहले प्रचण्डको आदेश पूरा नगर्दासम्म एमाले बैठकमा नआउने तर एमाले भन्न नछाडने निर्णय गरेको हो ।
संस्थापन पक्षले भने पार्टी एकताको लागि शुक्रवारको बैठकनै डेडलाइन हुने बताएको छ । तर नेपाल समुह जसरी पनि टार्ने र बिपक्षी गठबन्धनलाई बलियो बनाउने बाटोमा लागेको आजको बैठकले देखाएको छ । आजको यो निर्णयसँगै नेपाल पक्षले सर्वोच्च अदालतको फैसलाअघि अध्यक्ष ओलीसँग सहमति नगर्ने प्रष्ट मार्गचित्रमा हिडेको देखिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार बैठक चलिरहेको बेला कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डको फोन आएको थियो । दुवै नेतासँगको फोनमा कुराकानीपछि शुक्रवारको बैठकमा नजाने निर्णय नेता नेपालले सुनाउनु भएको थियो भने रावलले सही निर्णय भन्दै समर्थन गर्नुभएको थियो ।