जेठ २ मा फर्किएको घोषणासँगै बस्यो एमाले कार्यदल बैठक

सत्तारुढ नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीलाई निरन्तरता दिने निर्णय गरेको केही घण्टापछि नै कार्यदलको बैठक बसको छ । एमाले विवादमा सहमति कायम गर्न जुटेका नेताहरु केहीबेर अघिबाट छलफलमा बस्नुभएको हो ।

दुवैतर्फका अतिवादी समुहको तारोमा परेपनि एकता कायम राख्न निरन्तर लाग्नुभएका नेताहरुले आज ठोश सहमति जुटाउने तयारी गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले लचकताका साथ एमालेको सवै संरचनालाई २०७५ जेठ २ मा फर्काएर जाने निर्णयसहित महाधिवेशन आयोजक कमिटी भंग गरेपछि नेताहरु छलफलमा बस्नुभएको हो । आजको छलफलको नेतृत्व संस्थापनबाट संयोजक रहनुभएका स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र माधव नेपाल समुहको तर्फबाट स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नेतृत्व गर्नुभएको छ ।

एमालेको बिभाजन टरेको निश्कर्षसहित अघि बढाइएको छलफलमा शुक्रवार बोलाइएको एमाले केन्द्रीय कमिटी बैठकको मोडालिटीबारे समेत छलफल भइरहेको छ । आजको बैठकमा संस्थापन पक्षले आजको महाधिवेशन आयोजक कमिटीको बैठकका निर्णयहरू औपचारिक रूपमा जानकारी गराएको छ । ‘आजको बैठकले सन्तुलित निर्णय गरेको छ । यो निर्णयको जानकारी गराएका छौं,’ बैठक स्थलबाटै नेता नेम्वाङले भन्नुभयो ।

कार्यदल सदस्य सुरेन्द्र पाण्डेले पनि कार्यदलमा आफूहरु गहन छलफल गरिरहेको जानकारी दिनुभयो । ‘हामी कार्यदलको बैठकमा छलफल गरिरहेका छौं, सकारात्मक परिणामको लागि सवै पक्षमा छलफल चलिरहेको छ,’ पाण्डेले भन्नुभयो । एमाले संस्थापन पक्षले कार्यदल सदस्यहरुसँगको परामर्शमै कतिपय निर्णयहरू गरेको थियो । कार्यदल बैठकमा माधव समुहका संयोजक रहनुभएका भीम रावल भने सहभागी हुनुभएको छैन । कार्यदलका नेताहरुले बैठक स्थल भने गोप्य राख्नुभएको छ । ‘बैठकस्थलबारे चाँहि पछि नै भनौंला, निश्कर्षपछि सवै जानकारी हुन्छ,’ पाण्डेले भन्नुभयो ।