यस कारणले गरेनन् सर्वोच्च बार एशोसियशनका अध्यक्ष पूर्णमान शाक्यले बहस

दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च बार एशोसियशनका अध्यक्ष समेत रहेका प्राध्यापक वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको बहस नगर्ने भएका छन्।

गत पुसमा गरिएको संसद विघटनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च बार एशोसियनका तर्फबाट एमिकस क्यूरीका रुपमा बहस गरेका शाक्यले यसपटक पक्ष, विपक्ष वा एमिकस क्यूरी कतैबाट पनि बहस नगर्ने भएका हुन्। उनी संवैधानिक कानूनविज्ञ मानिन्छन्।

अघिल्लोपटक प्रतिनिधिसभा पुनःस्थापना हुनुमा शाक्यले गरेको बहस मुख्य आधार रहेको विश्लेषण कानूनी वृत्तमा गरिन्छ। चार घण्टाभन्दा बढी एमिकस क्यूरीका रुपमा इजलासलाई सुझाव दिएका शाक्यले धेरै प्रश्नको चित्तबुझ्दो जवाफ दिएका थिए।

उनले संवैधानिक इजलासमा दिएका धेरै विषयलाई स्वीकार गर्दै सर्वोच्चले फागुन ११ गते १३ दिनभित्र संसदको बैठक राख्न आदेश दिएको थियो।

दोस्रोपटक जेठ ८ गते गरिएको संसद विघटनविरुद्ध १४६ जना सांसदले दायर गरेको रिट निवेदनमा बहस चलिरहेको छ।

निवेदक पक्षको बहस चलिरहँदा विषयवस्तुलाई चिरफार गर्नसक्ने र इजलासका जिज्ञासालाई चित्त बुझ्दो रुपमा मेटाउन सक्ने गरि बहस नभएको गुनासो आएपछि धेरैले शाक्यको खोजी गरेका छन्। निवेदक पक्षको बहस कमजोर हुनुमा कानून व्यवसायीहरुलाई दिएको समय निक्कै छोटो हुनु मानिएको छ।

आफूलाई निवेदक पक्षले बहस गरिदिन आग्रह गरे पनि अस्वीकार गरेको वरिष्ठ अधिवक्ता शाक्यले देश सञ्चारलाई बताए। अहिलेको इजलास गठनमा आफ्नो प्रत्यक्ष भूमिका रहेकाले बहसबाट टाढा रहन चाहेको उनले बताए।

शाक्यले भने, ‘अहिलेको इजलास गठनमा मेरो पनि प्रत्यक्ष भूमिका छ। आफैले इजलास बनाएर बहस गर्यो भन्ने प्रश्न पक्कै पनि आउन सक्छ। त्यही भएर यसपटक म बहस गर्दिन।’

अहिलेको मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीशले पिक एण्ड चुजका आधारमा  इजलास गठन गरेपछि चर्को विवाद भएको थियो। इजलासमा राखिएका न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठप्रति निवेदक पक्षले असहमति जाहेर गरेपछि दुई हप्ता सुनुवाइ नै रोकिन पुगेको थियो।

इजलास गठनको विवाद चर्किएर सुनुवाइ नै नहुने स्थिति बनेपछि शाक्यले वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजालस गठन गर्न भूमिका खेलेका थिए।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेटेर वरिष्ठताका आधारमा इजलास गठन गर्न सर्वोच्च बारका तर्फबाट सुझाव दिएका थिए। त्यस सुझावका आधारमा राणाले आफूसहितको वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराई रहेको इजलास बनाएका छन्।

सर्वोच्च बारले यसपटक पाएको एमिकस क्यूरीमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको छ। उनीहरुले जम्मा आधा आधा घण्टाको समय पाएका छन्।

आज निवेदकको बहस सकिँदै

प्रतिनिसिभा विघटन विरुद्ध १४६ जना सांसदले दायर गरेको रिटमााथि आइतबार निवेदक पक्षको बहस सकिँदैछ। सुरुवाती बहसका लागि निवेदक पक्षले संवैधानिक इजलासमा पाएको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट बाँकी बाँकी छ। जवाफी बहसका लागि थप तीन घण्टा उपलब्ध गराइएको छ।

आइतबार उक्त समयमा कांग्रेस सभापति शेरबहादुर देउवाका वकिलले कुरा राख्नेछन्। बुधबारदेखि सुरु भएको बहसमा दुई दिन चार-चार घण्टाका दरले बहस भए पनि शुक्रबार दुई घण्टा मात्रै भएको थियो।

निवेदक पक्षले सकेपछि विपक्षी सरकारी पक्षले आइतबार चिया ब्रेकपछि बहस थाल्नेछन्। विपक्षी सबैलाई संवैधानिक इजलासले १५ घण्टाको समय दिएको छ।