पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई पार्टी संस्थापन पक्षबाट प्रधानमन्त्रीको प्रस्ताव आएको तर बिपक्षी गठबन्धनलाई धोका दिन नसकिने प्रष्ट पार्नुभएको छ ।
नयाँबानेश्वरस्थित संसद् भवनमा पत्रकारसँगको अन्तरक्रियामा एमालेका तात्कालिन बरिष्ठ नेता नेपालले आफूलाई अध्यक्ष केपी शर्मा ओलीको टीमबाट प्रधानमन्त्रीको प्रस्ताव आएको बताउनुभएको हो । पार्टी संस्थापनबाट आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आए पनि प्रधानमन्त्री केपी ओलीसँग भने नमिल्ने घोषणा नेपालले गर्नुभयो ।
‘माधव नेपाललाई प्रधानमन्त्री पद आइसक्यो । माधव नेपाल धोका दिने मान्छे होइन । जुन किसिमको प्रक्रिया छ, त्यसमा हामी फर्किन सक्दैनौँ,’ नेपालले भन्नुभयो । उहाँले मन उता शरीर एता नभएको बरु सकारात्मक सम्बन्धमा रहेकोसमेत उल्लेख गर्नुभयो । ‘तपाईंहरूले भने जस्तो मन एता शरीर उता होइन,’ नेपालले भन्नुभयो ।