एमालेले बोलायो असार १६ गते महाधिवेशन आयोजक कमिटिको बैठक

एमाले केन्द्रीय कार्यालय, माइतीघर । फोटोः प्रदेशखबर डटकम

नेकपा(एमाले)ले महाधिवेशन आयोजक कमिटिको बैठक बोलाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको नेकपा(एमाले)को स्थायी कमिटि बैठकले असार १६ गते पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए।

राष्ट्रिय राजनीतिको सम्बन्धमा केही निर्णयहरु गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटिको बैठक बोलाउनुपरेको उनले बताए।

उनले भने, ‘पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्तिहरु र राष्ट्रिय राजनीतिका विभिन्न आयामहरुको संक्षिप्त तर गहन छलफल गरेका छौँ। यो विषयमा थप केही निर्णयहरु गर्नु आवश्यक भएको, अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केही निर्णयहरु निकाल्नुपर्ने भएको हुनाले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौँमा बस्ने गरि बैठक आह्वान गर्ने निर्णय बैठकले गरेको छ।’

प्रवक्ता ज्ञवालीले बैठकले पार्टी सदस्यता नविकरणको कामलाई तीव्रता दिन मातहतका कमिटिलाई निर्देशन दिएको पनि बताए। उनले एमालेलाई एकताबद्ध बनाउनका लागि हरसम्भव प्रयास गरिरहेको पनि बताए। एमाले एकताबद्ध भइरहेमा मात्रै कम्युनिष्ट आन्दोलन, संविधान र राष्ट्रिय एकताको रक्षा गर्न सकिने भन्दै उनले आफूहरु एकताको पक्षमा रहेको बताए।

उनले भने, ‘नेकपा एमालेको एकतालाई अक्षुण कायम राखेर, सुदृढ गरेर मात्रै लोकतन्त्रको रक्षा गर्न सकिन्छ। कम्युनिष्ट आन्दोलनको रक्षा गर्न सकिन्छ। वर्तमान संविधानको रक्षा गर्न सकिन्छ। राष्ट्रिय एकता र राष्ट्रियताको पनि रक्षा गर्न सकिन्छ। एमाले कमजोर हुँदा खेरी यी सबै पक्षहरु अप्ठ्यारोमा पर्छन्, संकटमा पर्छन् भन्ने निष्कर्षका साथ हामी त्यसका लागि हरसम्भव प्रयत्न गरिरहेका छौँ।’

प्रवक्ता ज्ञवालीले आफूहरु एकताको पक्षमा रहे पनि माधव नेपाल पक्षधर पार्टीलाई विभाजित गर्ने र प्रधानमन्त्री ओली नेतृत्वको सरकार गिराउनको लागि लागेको बताए। माधव पक्ष एकताको पक्षमा नरहेको जिकिर उनले गरे।