‘एकदिन पृथ्वीबाट मानवजाति हराएर जानेछन्’- वैज्ञानिकहरुले यो अनुमान पहिले नै गरेका छन्। मानवजाति पृथ्वीबाट हराएर जाने कारणहरु मध्ये एक हो महामारी। करब १०० वर्षअघि देखिएको ‘स्पेनिस फ्लु’ होस् वा हालको ‘कोरोना भाइरस’ महामारी यो वैज्ञानिकहरुको अनुमानलाई पुष्टि गर्ने प्रमाण हो।
‘स्पेनिस फ्लु’ र अहिलेको महामारी त लगभग नियन्त्रणमा आयो तर वैज्ञानिकका अनुसार भविष्यमा यस्ता महामारी पनि आउन सक्छन् जसलाई मानवजातिले नियन्त्रणमा लिन सक्ने छैन। जसकारण मानव जाति लोप हुन सक्नेछ।
यसबाहेक यस्ता थुप्रै कारणहरु छन्, जसकारण मानव जाति एकदिन यो पृथ्वीमा रहने छैन। तर यहाँको जीवन भने चलिरहनेछ। बस् हाम्रो ठाउँमा अरु कसैको वर्चस्व हुनेछ।
हामी भाग्यमानी छौँ। हामीसँग सूर्य छ जसले ऊर्जा दिन्छ। हामी सूर्यसँगको त्यो दूरीमा छौँ जहाँ पानी तरल रुपमा रहन्छ। जसलाई वैज्ञानिक भाषामा ‘गोल्डिलक्स जोन’ भनिन्छ।

हामीसँग ठूलो आकारको चन्द्रमा छ जसको गुरुत्वाकर्षणका कारण पृथ्वी आफ्नो अक्षबाट डगमगाउँदैन र मौसम प्रणाली स्थिर रहन्छ। पृथ्वीको माथि वायुमण्डलमा ओजन तह छ जसले सूर्यबाट आउने घातक रेडिएसनबाट जोगाउँछ र पृथ्वीसँग चुम्बकीय क्षेत्र छ जसले सूर्यबाट आउने सौर्य तुफानबाट पृथ्वीलाई जोगाउँछ।
यी कारणले नै पृथ्वी हराभरा छ। पृथ्वीमा र यसको वायुमण्डलमा यस्ता तत्वहरु छन् जसले यहाँ जीवहरुका लागि बाँच्न उपयुक्त वातावरण छ। जुन अरु कुनै ग्रहमा अहिलेसम्म भेटिएको छैन।
हाम्रो सौर्यमण्डल बनेको करिब साढे चार अर्ब वर्ष भयो। बितेका साढे चार अर्ब वर्षमा धेरै त्यस्ता घटना पृथ्वीले सहेको छ जसकारण यो हराभरा छ। विभिन्न कालखण्डमा घटेका विभिन्न घटनाले यहाँ जीव र जीवन बाँच्न लायक बनाइदिएको छ। आज पृथ्वीमा मानवजातिको वर्चस्व छ। जस्तो कि कुनै समय डायनासोरको थियो र त्यो भन्दा अघि अरु कुनै जीवको।
तर जुन अवस्थाका कारण मानव जाति अस्तित्वमा रहेको छ के सधैँ यस्तै भइरहने छ ? वैज्ञानिक भन्छन् यस्ता धेरै कारण छन् जसकाकारण हाम्रो अस्तित्व यो पृथ्वीबाट मेटिएर जानेछ । ब्रम्हाण्डमा यस्ता धेरै खगोलीय घटना हुन्छन् जसकाकारण पृथ्वीको विनास हुनेछ। आफ्नै कारण पनि हाम्रो अस्तित्व मेटिन सक्नेछ ।
अमेरिकी खगोल भौतिक विज्ञ एलेक्स फिलिप्पेन्को भन्छन्, ‘यस्ता धेरै तरिका छन् जसका कारण हामीले आफूलाई मेटाउने छौँ । परमाणुबाट हुने विनाश, जैविक या रासायनिक युद्ध वा माहामारी जसकारण पृथ्वीबाट मानव जातिको अस्तित्व समाप्त हुनेछ।’
परमाणु हतियार मानवद्वारा निर्मित सबैभन्दा खतरानाक हतियार हो जसले मानव जातिकै अस्तित्व समाप्त गर्नसक्छ । अझ भनौँ यो मानव जातिका विरुद्ध नै प्रयोग गर्नका लागि बनाइएको हो । दोस्रो विश्वयुद्धमा यसको प्रयोग पनि भएको थियो । १९४५ मा अमेरिकाले जापान विरुद्ध प्रयोग गरेको यो हतियार अहिले वा भविष्यको कुनै युद्धमा प्रयोग भएमा यसले ठूलो क्षति निम्त्याउने पक्का छ ।
फिलिप्पेन्को भन्छन्, ‘परमाणुसँगै प्रयोगमा आउनसक्ने अर्को हतियार जैविक या रासायनिक हो । जसकारण मानव जातिको विनास हुनसक्छ ।’
अगष्ट २१, २०१३ सिरियाका विद्रोहीहरुले राजधानी दमास्कसमा रासायनिक हतियार प्रयोग गरेको पाइएको थियो । त्यस्तै सिरियामै २०१८ मा सरकारी सेनाले रासायनिक हतियारको प्रयोग गरेको पुष्टि भएको थियो ।

फिलिप्पेन्का अनुसार ‘फ्लु’ नियन्त्रण गर्न कुनै पक्का कदम उठाउन नसक्दा पृथ्वीबाट मानव जाति लोप भएर जानसक्छ । करिव १०० बर्ष अघिको स्पेनिस ‘फ्लु’ होस् वा हालको ‘कोरोना भाइरस’ जसले मानव सभ्यतामाथि महामारीको खतरा देखाएका छन् ।

अमेरिकी खागेलविद् लौरा डेली भन्छिन्, ‘मानव जातिले आफ्नो अस्तित्वमाथि कुनै ठूलो खतरा निम्त्याएका छन् भने त्यो हो चाहिने भन्दा धेरै जनसंख्या । यस्तै चलिरहयो भने त्यो दिन टाढा छैन पृथ्वीमा मानव जाति बाँच्न सक्ने छैनन् ।’
वैज्ञानिकहरका अनुसार आफ्नै कारण अन्त्य नभएपनि माजव जातिको विनाश निश्चित छ । फिलिप्पेन्कोका अनुसार ‘त्यस्ता धेरै प्राकृतिक घटना सम्भव छन् जसका कारण पृथ्वीबाट धेरै प्रजातिहरु लोप हुनसक्छन् ।
ज्वालामुखी
पृथ्वीमा बेलाबेलामा ज्वामुली बिस्फोट हुने गरेका छन् । वैज्ञानिक फिलिप्पेन्को भन्छन्, ‘ठूलो ज्वालामुखी विस्फोटबाट निस्केको धुँवा धुलोले सूर्यको प्रकाश पृथ्वीमा प्रवेश नपाउँदा तापमान घटेर हामी ‘आइस एज’मा पुग्ने सम्भावना छ ।’
हाम्रो पृथ्वीमा कमेट(धूमकेतु) वा एस्ट्रोइड(क्षुद्रग्रह) ठोक्किने सम्भावना धेरै छ । हाम्रो सौर्य मण्डल वा बाहिर यस्ता ठूला चट्टानका टुक्राहरु घुमिरहेका हुन्छन् जुन पृथ्वीको गुरुत्व आकर्षणका कारण ठोक्किन आइपुग्छन् ।
फिलिप्पेन्को भन्छन्, ‘यदि यस्तो भयो भने पृथ्वीबाट धेरै जीवका प्रजातिहरु मेटिन सक्छन् । र यदि ठोक्किने कमेट वा एस्ट्रोइडको चौडाइ १६ किमी वा त्यो भन्दा धेरै भयो भने त्यसले पृथ्वीमा धेरै क्षति पुर्याउने छ । धेरै मात्रामा धुलो पृथ्वीको वातावरणमा फैलिने छ । सूर्यको प्रकाश पृथ्वीमा घुस्न पाउने छैन । जसकारण वनस्पति नासिने छन् । पहिला शाकाहारी जीव मर्नेछन्, अनि मांसाहारी जीव मर्नेछन् र अन्त्यमा धेरैजसो जीवहरु पनि ।’
ठक्करका कारण निस्कने कार्वनडाइअक्साइड पानीमा मिसिएर अम्लीय बर्षा हुनेछ । जसकारण अन्नबाली र समुन्द्री जीवहरु सकिने छन् । र, अन्त्यमा पृथ्वीबाट पचहत्तर प्रतिशत जीवको विनास हुनेछ । पचास करोड वर्ष पहिले पृथ्वीमा एस्ट्रोइड ठोकिएर डायनासोरको विनास भएको थियो । त्यसपछि मानव जातिको उत्पति सम्भव भएको वैज्ञानिकहरुको अनुमान छ । खागेलविद् डेली भन्छिन्, ‘कुनै ठूलो कमेट वा एस्ट्रोइड पृथ्वीसँग ठोक्किने पुरा सम्भावना छ । प्रश्न त यो छ कि यो कहिले हुन्छ ? र यो रोक्नको लागि हामीले केही गर्न सक्छौँ या सक्दैनाैँ ?

–प्रभात खनाल