प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अदालतको आदेशलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने ठोकुवा गर्नुभएको छ । संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अव देउवा प्रधानमन्त्री हुने ठोकुवा गर्नुभएको हो ।
आफूले सेटिङ गरेको नभई संविधान अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री हुने उहाँको भनाई थियो । ‘हेर्नुहोला केपीपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । यो सेटिङ गरेर भनेको होइन । देउवाले प्रधानमन्त्री चाहियो भनेर कहिल्यै भन्नुभएन । हामीले उभ्याएका हौं, साथ दिन्छौँ भनेर,’ प्रचण्डले भन्नुभयो । यसअघि मन्त्रिपरिषद पुनर्गठनको बिवादमा अदालतको फैसला आउनु एक दिन अघि प्रचण्डले मन्त्रिपरिषद बिस्तारलाई अदालतले बदर गर्ने भरपर्दाे सूचना पाएको घोषणा गर्नुभएको थियो ।
‘हामी ५ पूर्व प्रधानमन्त्रीले दिएको विज्ञप्ति बुझ्नेका लागि इसारा काफि छ । पत्रकार साथीहरु हामीलाई धेरै एक्सपोज गर्न नलगाउनुस, नेतालाई धेरै एक्सपोज गराउदा देशलाई फाइदा हुदैन,’ प्रचण्डले भन्नुभयो । प्रचण्डले पार्टी एकता शुरु हुनसाथ ओलीसँग लडाइँ शुरु भएको खुलासासमेत गर्नुभयो । ‘दुई अध्यक्ष बराबर भन्ने थियो । उनले मानेनन, मेरो कमजोरी भयो, उनलाई एकलौटी छाडेर । आफ्नै गृहमन्त्रीले लाठीचार्ज गरे,’ प्रचण्डको भनाई थियो । अदालतमा बिचाराधिन मुद्धामा यस्तो फैसला आउँछ भनेर घोषणा गर्नुभएका प्रचण्डले अदालतमा सेटिङ भने नगरेको प्रष्टिकरण दिनुभयो ।