लगातारको वर्षाका कारण मेलम्ची नदीमा पानीको बहाव अघिल्ला दिनको तुलनामा केही बढेको छ।
मेलम्ची नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार नदीमा पानी बहाव केही बढे पनि तत्काल थप जोखिमको अवस्था भने छैन।
शनिबार बिहान मेलम्ची नदीले कटान गर्दै जाने क्रममा मेलम्ची नगरपालिका–११ मा रहेको स्थानीयको एक घर भने ढलेको छ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले भने, ‘यसअघिकै बाढीले खेत कटान गरि घर नजिकै नदी आएको थियो। तत्काल कटान रोक्न सक्ने अवस्था थिएन, नदीले कटान गर्दै आउँदा बिहान एक स्थानको घर ढलेको हो।’
सो घरका बासिन्दा यसअघिकै बाढीका बेला सुरक्षित स्थानमा गएको र सामानहरु पनि सारिएको उनले जनाएका छन्।
लगातार पानी परे पनि तत्काललाई नयाँ बाढी र त्यसले क्षति गर्ने जोखिम नरहेको उनले बताए। असारको पहिलो हप्ता आएको बाढीले धराप अवस्थामा लगेका केही संरचनाहरु भने जोखिममा छन्। रवि खड्का मेलम्ची